© २०२३
बुटवल, १३ मंसिर ।
रुपन्देहीमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा क्लिव स्विप भएको नेपाली काँग्रेसले समानुपातिकतर्फ भने सबैभन्दा धेरै मत ल्याएको छ । प्रतिनिधिसभातर्फ जिल्लाका पाँच निर्वाचन क्षेत्र मध्ये काँग्रेसले कुनै क्षेत्र पनि जितेको छैन ।
१० वटा प्रदेश सभा क्षेत्र मध्ये काँग्रेस दुई वटामा मात्र विजयी भएको छ । तर काँग्रेसले जिल्लामा समानुपातिकतर्फ सबै भन्दा बढी ९१ हजार ५३४ मत ल्याएको छ । नेकपा एमालेले ७८ हजार ३४९ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो बढी मत ६६ हजार १६९ पाएको छ । जनमत पार्टीको ३७ हजार ३२ मत आएको छ ।
लोसपाले ३१ हजार १९० मत पाउँदा राप्रपाको २९ हजार ३ मत आएको छ । माओवादी केन्द्रले १५ हजार १२१ मत मात्र पाएको छ । एकीकृत समाजवादीले ३ हजार ५५ मत ल्याएको छ ।
क्षेत्रगत हिसावमा समानुपातिक तर्फ रुपन्देही १ र ३ मा कांग्रेसको बढी मत आएको छ । १ नम्बर क्षेत्रमा प्रत्यक्ष तर्फ काँग्रेसका उम्मेदवार थिएनन् । यो क्षेत्रमा एमालेका छबिलाल विश्वकर्माले गठबन्धनको समर्थन पाएका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाललाई पराजित गरेका थिए । ३ नम्बर क्षेत्रमा काँग्रेसका बालकृष्ण खाणलाई पराजित गरी एमालेको समर्थन पाएका राप्रपाका दीपक बोहोरा विजयी भएका हुन् ।
यस्तै, रुपन्देही २ र ५ मा एमालेका मतदाता बढी देखिएका छन् । यी दुवै क्षेत्रमा एमालेकै उम्मेदवार विष्णु पौडेल र बासुदेव घिमिरे विजयी भएका छन् । ४ नम्बर क्षेत्रमा लोसपाले बढी मत पाउँदा प्रत्यक्षतर्फ सो पार्टीका सर्वेन्द्रनाथ शुक्ल विजयी भएका छन् ।