© २०२३
कपिलवस्तु, २५ असार ।
कपिलवस्तु जिल्लाका सञ्चारकर्मीले स्वास्थ्य क्षेत्रमा रहेको जिल्लाभरको बेथिति समाधान गर्न सरोकारवालाको ध्यान जानुपर्ने बताएका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा तौलिहवामा सम्पन्न मिडियाकर्मीका लागि स्वास्थ्य सेवा प्रवर्द्धन सम्बन्धी पैरवी कार्यक्रमका सहभागीले सो सुझाव दिए । जिल्लाका विभिन्न स्थानमा मापदण्ड नपुर्याई क्लिनिक र निजी अस्पताल चलाइएको, मापदण्ड बिनाका प्रयोगशाला सञ्चालनमा रहेको, फार्मेसीहरूले क्लिनिक दर्ता नगरी विशेषज्ञ डाक्टरको सेवा दिएको, सेवा प्रवाह गर्ने डाक्टरको सुची राखेर बिरामी झुक्काउने गरेको, सरकारी अस्पतालका डाक्टर अस्पताल समयमा निजी क्लिनिकमा उपचार गर्दै आएको, एम्बुलेन्सहरूले मनोमानी शुल्क लिने गरेको र निजी क्लिनिकमा सेटिगंमा बिरामी पुर्याएर उनलाई आर्थिक भार पुर्याएको लगायतका गुनासो आएकाले सो समाधानमा सम्बन्धित निकायले चासो लिन आवश्यक रहेको सञ्चारकर्मीहरूको भनाई थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विवश रानाले डेगी रोग बारे सुचना प्रवाह गर्दै लामखुट्टेको टोकाईबाट हुने डेगीको जाखिम नेपालमा बढदै गएको जनाए । डेंगी नियन्त्रणका लागी फोहर पानी जम्ने भाडा, टायर, ड्रम लगायतका सामाग्रीमा फोहर पानी जम्न नदिन बिचार उनले सुझाव दिए । त्यसै गरि कार्यालयले सुर्तिजन्य पदार्थ बारे सचेतना प्रवाह गराउदै आएको जनाउदै २०८१ पौष यता क्यान्सरका ८० जना र मृगौला प्रत्यारोपणका लागि प्रदेशबाट पाउने सुबिधाका लागि बिरामीहरू कार्यालयको सम्पर्कमा आएको उनले तथ्याकं पेश गरे । जिल्लामा ८० बर्ष माथीका जेष्ठ नागरिक र असक्त नागरिक सँग स्वास्थ्यकर्मी कार्यक्रम मार्फत ५ हजार ८ सय ९९ जनालाई सेवा दिईएको अधिकृत रानाले जानकारी दिए ।
त्यसैगरि १२ हजार ७ सय ६१ जना नागरिकको नसर्ने रोगको परिक्षण, ३ सय ३८ जनाको स्थाई बन्ध्याकरण, दुर्घटना न्युनिकरणका लागी ट्राफिक सँगको सहकार्यमा सचेतना प्रवाह, खोप सेवा, पोषण सुधार, क्षयरोग तथा कुष्ठरोग खोज पडताल र उपचार, औंलो खोज पडताल र उपचार, सुरक्षित मातृत्व तथा परियोजना कार्यक्रमलाई कार्यालयले प्राथमिकता दिदै आएको उनले जनाए । संचारकर्मी समाजका सूचनाका स्रोत रहेकोले जनताको विचार निर्माणमा महŒवपूर्ण भूमिका खेल्ने भएको हुँदा स्वास्थ्य प्रवद्र्धन सम्बन्धी पैरवी कार्यक्रम आयोजना गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले बताए ।
सञ्चारकर्मीबाट आएको सुचनालाई गम्भिर रूपमा लिई स्वास्थ्य क्षेत्रका चुनौती समाधानमा भुमिका निर्वाह गर्ने उनले प्रतिबद्धता जनाए । नागरिकको स्वास्थ्य सुधारका लागि राज्यले ठुलो लगानी गरेकोले निशुल्क रूपमा उपलब्ध हुने सेवा सहज रूपमा लिनका लागि अझै पनि नागरिकमा सूचना अभाव रहेकोले मिडियाकर्मी र स्वास्थ्यकर्मीको सहकार्य आवश्यक रहेको उनले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले कपिलवस्तुको स्वास्थ्य कार्यालय मिडियामैत्री रहेकोले नै हरेक स्वास्थ्यका अभियानहरू सफल भएको बताए । सबै खाले स्वास्थ्य सेवा आमनागरिकले सहज रूपमा प्राप्त गर्ने सुनिश्चित हुनेगरी काम गर्न आवश्यक रहेकोमा भुसालले जोड दिए ।