© 2026
बुटवल, २४ असार ।
पर्यटन क्षेत्रको विकास र समग्र समाजको समृद्धिका लागि होटल तथा रेष्टुरेन्ट व्यवसायी र यातायात व्यवसायीको साझेदारी आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरूले चर्चा गरेका छन् । नेपाली अर्थतन्त्रको बलियो आधार मानिएको पर्यटन क्षेत्रको विकासका लागि होटल व्यवसायी र यातायात ब्यबसायीहरुको भूमिका महत्त्वपूर्ण हुने दाबी सहभागी वक्ताहरूले गरेका हुन ।
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले आयोजना गरेको होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ, रुपन्देहीको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान कार्यक्रममा सहभागी होटेल तथा यातायात व्यवसायीहरूले पर्यटन विकासको मेरुदण्ड मानिने होटल र यातायात व्यवसायी एक–अर्काका परिपूरक र साझेदार सरह समेत भएको दाबी गरेका छन् । उक्त सम्मान कार्यक्रम मार्फत यातायात व्यवसायी र होटल व्यवसायी बिचको सम्बन्धलाई थप प्रगाढ बनाउन र सहकार्यलाई संस्थागत बनाउन प्रयास गरिएको बताइएको छ ।
कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रा.लिका अध्यक्ष दधिराम खरेलले देशको पर्यटन विकासमा यी दुई क्षेत्रको संयुक्त भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै होटेल व्यवसायी र यातायात व्यवसायी एकमत भएर काम गरेमा भने नेपालको पर्यटन क्षेत्रले गति लिने, रोजगारी बढ्ने र अर्थतन्त्र बलियो बन्ने बताए । पछिल्लो समय यातायात क्षेत्रले बेहोर्नु परेको समस्याहरू वैज्ञानिक भाडादर नहुनु, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सरकारी बेवास्ता जस्ता कारणले व्यवसायी पलायन हुन भइरहेको प्रति चिन्ता पनि व्यक्त गर्दै अध्यक्ष खरेलले सरकारले यातायात क्षेत्रलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्नुपर्ने बताए । अध्यक्ष खरेलले भने—“सरकारले दृष्टिकोण परिवर्तन नगरेमा सिंगो पर्यटन प्रणाली नै अव्यवस्थित बन्छ, यातायात बिना यात्रा सम्भव हुँदैन । होटल र रेस्टुरेन्ट बिना पर्यटकलाई बसोबास, खानपान वा विश्रामको सहजता हुँदैन । ती दुई क्षेत्र मिलेर जब समन्वय गर्छन्, पर्यटक सन्तुष्ट हुन्छन्, देशको छवि पनि राम्रो बन्छ ।”

होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ, रुपन्देहीका नवनिर्वाचित अध्यक्ष माधव खनालले पर्यटन प्रवर्द्धनको सवालमा निजी क्षेत्र, यातायात क्षेत्र र सरकारले मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए । बुटवललाई पर्यटक आवतजावतको ‘ट्रान्जिट सिटी’ का रूपमा उल्लेख गर्दै यहाँको होटल, यातायात र सूचना प्रवाह प्रणाली अझ व्यवस्थित हुनुपर्ने आवश्यकता औँल्याए । बुटवलबाट लुम्बिनी, पाल्पा, पोखरा, गुल्मी र भारतका सहरसम्म सहज यात्रा हुने भएकाले यहाँको व्यवस्थित पर्यटन सेवा देशकै नमुना बन्न सक्ने धारणा पनि व्यक्त गरे । अध्यक्ष खनालले भने—“पर्यटकलाई हामीले खोजेजस्तो वातावरण दिन सकेनौँ भने उनी फेरि आउँदैनन् । यसका लागि गुणस्तरीय सेवा, समय पालन, स्वच्छता, र सहज यातायातको संयोजन आवश्यक छ ।”
कार्यक्रममा प्रालिका सञ्चालक नारायण घिमिरे र प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले पर्यटन व्यवसायमा गुणस्तरयुक्त सेवा, सुरक्षित र समयमै पुग्ने यातायात, स्वच्छ र सुलभ होटल सेवाको आवश्यकता औँल्याउँदै साझेदारीको संस्कार विकास गर्नुपर्ने बताए । “हामी अझ मिलेर काम गर्नुपर्छ । पर्यटन व्यवसायी, होटल व्यवसायी, र यातायात व्यवसायीहरूबिच नियमित समन्वय र सेवा मापदण्डका विषयमा तालिम, साझा योजना, प्याकेज टुर विकास जस्ता कुरामा ध्यान केन्द्रित गर्नु आवश्यक छ ।”
पश्चिम नेपाल बस व्यवसायी प्रालिले विगतदेखि नै विभिन्न संघसंस्थासँग सहकार्य गर्दै सामाजिक दायित्व निर्वाह गर्दै आएको उल्लेख गर्दै यस प्रकारको सम्मान कार्यक्रमले व्यवसायीहरूलाई प्रेरणा दिने मात्र नभई सहकार्यको नयाँ ढोका खोल्ने विश्वास गरिएको छ ।
बुटवल जस्तो सहर, जहाँ आन्तरिक पर्यटकको चाप उच्च छ र लुम्बिनीको प्रवेशद्वारका रूपमा यसको भूमिका विशेष छ, त्यहाँ यस्ता सहकार्यको खाँचो अझ बढी हुन्छ । पर्यटन भनेको सरकारी योजना मात्र होइन, स्थानीय उद्यमीको सक्रियता, जनतासँगको आत्मीयता र सहज सेवा–सुविधाको संयोजन हो । देशको समग्र विकासमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण मानिन्छ । नेपालजस्तो प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण मुलुकमा पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको आधार बनाउने धेरै कुरा गरिए पनि व्यवहारिक कार्यान्वयन र क्षेत्रीय सहकार्य अझै कमजोर देखिन्छ ।