© २०२३
बुटवल, २२ असार। रोटरी क्लब अफ बुटवलको ३३औँ पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ। क्लबका २०२४/२५ का अध्यक्ष प्रज्ज्वल थान्जुले नयाँ वर्ष २०२५/२६ का लागि कृष्ण पराजुलीलाई पद हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का पूर्व गभर्नर (डिजि) सञ्जय गिरिले नव–अध्यक्ष पराजुलीलाई शपथ ग्रहण गराएका थिए। अध्यक्ष पराजुलीले नवगठित कार्यसमिति सदस्यहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराए।
कार्यक्रम उद्घाटन गर्दै डिजि सञ्जय गिरिले रोटरीसँगको आफ्नै यात्राबारे चर्चा गर्दै सामाजिक परिवर्तनमा साना प्रयासको महत्वबारे प्रेरणादायी कथाहरू सुनाए। उनले नकारात्मकता त्यागेर सकारात्मक सोच र सहकार्यबाट नै रोटरीको सामाजिक प्रभाव व्यापक बनाउन सकिने बताए।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समाजसेवामा पद र भावना मिल्नु जरुरी रहेको भन्दै रोटरीको योगदानलाई प्रशंसा गरे। बुटवललाई हरियाली, सरसफाई र पर्यटनमैत्री सहर बनाउने अभियानमा निजी संघसंस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे। पुरानो बटौलीको ऐतिहासिक सम्पदालाई जोगाउन तीन तहको सरकारले ४३ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको जानकारी पनि उनले दिए।
कार्यक्रममा डिष्ट्रिक ३२९२ का अर्का पूर्व डिजि राजेन्द्रमान शेरचनले क्लबले अक्षय कोषमार्फत शिक्षामा पु¥याएको योगदानको सराहना गर्दै नयाँ कार्यसमितिलाई अझ रचनात्मक ढंगले अगाडि बढ्न सुझाव दिए।
यस अवसरमा रोटरी क्लब अफ बुटवलका सचिव शिव ज्ञवाली र प्रेसिडेन्ट–इलेक्ट मधु अर्यालले पनि आ–आफ्ना धारणा राखेका थिए।