© २०२३
नवलपरासी, १२ मंसिर ।
नेकपा एमालेले प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको अभिव्यक्तिको कडा शब्दमा खण्डन गरेको छ ।
सोमबार पार्टी कार्यालय परासीमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले त्रिपाठीले एमालेमाथि लगाएको आरोप झुटो र कपोलकल्पित भएको बताए । हार स्वीकार्न गर्न नसकेर ईमान्दार पार्टी नेतृत्व पंक्ति र कार्यकर्तामाथि त्रिपाठीले अपमान गरेको अध्यक्ष अधिकारीको भनाई थियो ।
त्रिपाठीले आइतबार परासीमा आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष अधिकारी सहित पोलिट्व्युरो सदस्य बैजनाथ चौधरी, महासचिव शंकर पोखरेलको नामै लिएर आफुलाई हराउन लागेको र नेतृत्व पंक्ति आर्थिक प्रलोभनमा परेको आरोप लगाएका थिए । त्यसको खण्डन गर्दे अध्यक्ष अधिकारीले कुनै पनि आर्थिक प्रलोभनमा परी वा नपरी त्रिपाठी विरुद्ध मतदान गर्न लागेको पुष्टि भए आफुले राजनीति नै छाड्ने बताए ।
पत्रकार सम्मेलन पछि जारी विज्ञप्तीमा एमालेले त्रिपाठीको अभिव्यक्तिको कडा शब्दमा खण्डन गर्दे त्रिपाठीको पार्टी जप्रपाले प्राप्त गरेको भोट र एमालेले प्राप्त गरेको भोटको आधारमा प्राप्त परिणामको तुलना गर्न भनेको छ । त्रिपाठीको पार्टीले सो क्षेत्रमा समानुपातिक तर्फ जम्मा ३ हजार ९ सय ३६ मत प्राप्त गरेको र एमालेले १७ हजार १ सय ७२ मत प्राप्त गरेकोमा त्रिपाठीले प्रत्यक्ष तर्फ २२ हजार ३ सय २८ मत प्राप्त गर्नुले एमालेले ईमान्दारीतापुर्वक मतदान गरेको पुष्टि हुने विज्ञप्तीमा जनाईएको छ ।
त्रिपाठी स्वयम् नै एमालेका प्रदेश सभाका उम्मेदवारलाई हराउन लागेको चर्चा सर्वत्र भएको भन्दै एमालेले त्यसबाट बच्न त्रिपाठीले झुटो आरोप लगाएको दाबी गरेको छ । त्रिपाठी आफै अलोकप्रिय भएको कुरा उहाँकै पालिकाबाट प्राप्त मतले पनि पुष्टि गर्ने सचिव धिरज शर्मा बस्यालले बताए ।