© २०२३
दाङ, १२ मङ्सिर ।
यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दाङमा समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा रहेको छ । प्रत्यक्षतर्फको निर्वाचनमा क्लिनस्वीप भएको एमालेले समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ ।
तीन प्रतिनिधिसभा र छ प्रदेशसभा सदस्य रहेको दाङमा ६७ हजार छ सय ५४ मत ल्याएर एमाले समानुपातिकमा पहिलो दल बनेको छ । एमालेले सबैभन्दा धेरै मत क्षेत्र नम्वर ३ बाट प्राप्त गरेको छ । नेपाली कांग्रेसले ६१ हजार दुइ सय ३३ मत पाएर दोस्रो स्थानमा रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कांगे्रसले पनि सबैभन्दा धेरै मत क्षेत्र नम्वर ३ बाट प्राप्त गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ३९ हजार आठ सय ५३ मत प्राप्त गरेर तेस्रो स्थानमा आएको छ । त्यसैगरी नेकपा (माओवादी केन्द्र) ले ३३ हजार एक सय ९८ मत पाएर चौथो दल बनेको छ माओवादीले सबैभन्दा धेरै मत क्षेत्र नम्वर १ बाट पाएको छ । नागरिक उन्मुक्ति पार्टीले आठ हजार आठ सय ९२ मत पाएर पाँचौ दल बनेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सात हजार छ सय एक मत प्राप्त गरी छैठौं पार्टी बनेको छ । एकीकृत समाजवादीले चार हजार छ सय ९१ मत पाएर सातौं पार्टी बनेको छ । राष्ट्रिय जनमोर्चाले दुइ हजार तीन सय १४ मत पाएर आठौं दल बनेको छ । मङ्गोल नेशनल अर्गनाइजेशनले एक हजार नौ सय ४० मत पाएर नवौं दल बनेको छ । हाम्रो नेपाली पार्टीले एक हजार तीन सय २५ मत पाएर दशौं दल बनेको छ ।
दाङमा कुल ४ लाख १४ हजार ९ सय ५६ जना मतदाता रहेकामा २ लाख ४८ हजार ६ सय ६२ मत खसेको थियो । जिल्लामा राजनीति दल र स्वतन्त्र गरी प्रदेशसभा सदस्यका लागि ४६ जना र प्रतिनिधिसभा सदस्यका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा थिए ।