© २०२३
काठमाडौँ, ११ मंसिर ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पराजयउन्मुख देखिएका छन् । इलाम क्षेत्र नम्बर १ मा जारी मतगणनामा खनालको मतान्तर बढ्दै गएको हो ।
ताजा अवस्थामा खनाल नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग २५ सय बढी मतले पछि परेका छन । इलाम क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष सुवास नेम्वाङले झिनो मतले जितिसकेको अवस्थामा १ मा पनि एमालेले जित्नेतर्फ अग्रसर भएको हो । त्यहाँ नेकपा एमालेका नेता महेश बस्नेतले २४ हजार ३०४ मतसहित अग्रता स्थानमा छन् । अर्कातिर सुरुदेखि नै पछि परिरहेका खनालले अहिले २१ हजार ८०२ मत ल्याएका छन् । उनी अहिले २५ सय २ मतले पछि परेका छन् ।
इलाम–१ अब अब ३४ सय १४ गन्न बाँकी रहेको छ । मतगणनास्थलमा रहेका युवा संघका स्थायी कमिटी सदस्य निरोज पौडेलका अनुसार अहिले मतगणना अन्तिमतिर पुग्दैछ । पछि परेको अवस्थामा खनालले त्यहाँ पुनः गणना गर्नुपर्ने माग गरेका थिए । उनले सुरुमा ५ सय मत तलमाथि गरिएको बताएका थिए । त्यसपछि पनि उनले २६० मतमा गडबड गरिएकाले मतगणना बहिष्कार गर्ने चेतावनी दिएका थिए ।