© २०२३
बुटवल, ९ मंसिर ।
रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई हराउँदै पौडेल निर्वाचित भएका हुन् । पौडेलले २७ हजार १४८ मत ल्याएर विजयी भए भने स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार ७८२ मत प्राप्त गरे । १३ सय ६६ मतको अन्तरले एमाले उपाध्यक्ष पौडेल विजयी भएका हुन् ।
त्यस्तै सत्ता गठबन्धनले समर्थन गरेका जनमुक्ति पार्टीका केशव सुर्यवंशीले २२ हजार १० मत ल्याएका छन् । १ लाख २६ हजार ८०७ मतदाता रहेको रुपन्देही–२ मा कुल ८० हजार ६५१ मत खसेको थियो । जसमा २ हजार १९३ मत बदर भएको छ ।रुपन्देहीबाट पौडेल चौथोपटक सांसदमा चुनिएका हुन् । उनले यसअघि २०६४ सालमा काँग्रेसका सूर्यप्रसाद प्रधान, २०७० मा माओवादीका डा. बाबुराम भट्टराई र २०७४ सालमा काँग्रेसका युवराज गिरीलाई हराएका थिए भने २०५६ सालमा काँग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भएका थिए ।