© २०२३
गुल्मी, २६ जेठ ।
आर्थिक सङ्कटकाल घोषण गरेको गुल्मीको रेसुङ्गा क्याम्पस लयमा आएको छ ।आर्थिक अभावका कारण सङ्कटकाल घोषण गरेको क्याम्पस अहिले लयमा फर्किएको क्याम्पस सञ्चालक समितिले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीका अनुसार २०७९ साउन ३० गते क्याम्पसमा आर्थिक अवस्था र विद्यार्थीहरूको अवस्था न्यून रहेकाले सङ्कटकाल घोषण गर्न बाध्य भएको र अहिले क्याम्पस लयमा आएको बताएका छन् ।
यस बिचमा क्याम्पसले सात जना प्राध्यापक र छ जना कर्मचारीहरूलाई बिदाइसमेत गरेको भलामीले बताए । उनीहरूलाई बिदाइ गर्दा मासिक रूपमा सात लाख ११ हजार ९१८ रुपियाँ खर्च कटौती हुनुका साथै आर्थिक भार पनि कम भएको उनको भनाइ छ ।क्याम्पसमा आर्थिक अभाव भएको भन्दै रेसुङ्गा नगरपालिकाले एक करोड रुपियाँ अनुदान स्वरूप दिने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम पहिलो किस्ताको ५० लाख रुपियाँ प्राप्त भएको र बाँकी रकम अख्तियारमा उजुरी परेका कारण प्राप्त गर्न नसकिएको भलामीले बताए ।
क्याम्पसबाट अवकाश लिएका प्राध्यापक र कर्मचारीका लागि दिनुपर्ने कुल तीन करोड ३६ लाख ८९ हजार ३२७ रुपियाँ मध्ये दुई करोड २३ लाख दुई हजार ८४२ रुपियाँ भुक्तानी गरी बाँकी एक करोड १३ लाख ८६ लाख ४८५ रुपियाँ बाँकी रहेको सञ्चालक सदस्य हरिकुमार श्रेष्ठले जानकारी दिए । उक्त रकमका लागि पनि व्यवस्थापन भइरहेकाले समस्या नरहेको उनको भनाइ छ । आर्थिक वर्ष २०८१।०८२ मा स्नातक र स्नातकोत्तरमा गरी कुल ७३१ जना विद्यार्थीहरू रहेका छन् ।