© २०२३
पाल्पा, २३ जेठ ।
सडक बिस्तारको क्रममा कटान भएका रुख डिभिजन वन कार्यालय पाल्पाले स्थानीय सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरेको छ ।
५ दशक अगाडि अर्घाखाँची खिदिमका काशीनाथ गौतमद्वारा प्रस्तावित पाल्पा जिल्लाको पश्चिमी क्षेत्र रैनादेवी गाउँपालिकाको सुन्दरे ढुंगा देखि रुपन्देहीको सालझण्डी जोड्ने मोटर बाटोको स्तरोन्नतिका क्रममा कटान भएका रुख हस्तान्तरण गरेको वन कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी खिल बहादुर तामाङका अनुसार राष्ट्रिय वन सहित रैनादेवी छहरा गाउँपालिका भित्रका वल्ढेङगढी र सत्यवती भित्रका सामुदायिक वनभित्रका सडक विस्तारको क्रममा गतवर्ष कटान भएका रुखहरुको व्यवस्थापन गरी काठ दाउरा हस्तान्तरण गरिएको हो ।
सडकको रेखाङ्कन गरी ट्रयाक खुलेको लामो समय भएपनि रुख कटानको लागि कानुनी अडचन भएका कारण सडक स्तरोन्नतिको क्रम रोकिएको थियो । प्रदेश सरकार अन्तर्गत सडक पूर्वाधार कार्यालयको माग बमोजिम प्रदेश सरकारको सिफारिसमा संघीय सरकारको अनुमति र डिभिजन वन कार्यालयको मूल्याङ्कनमा गत वर्ष कटान अनुमति पत्र प्राप्त गरेको थियो ।
सडक विस्तारको लागि रुख कटान गर्नु पर्ने र त्यसको व्यवस्थापनको लागि थप बजेट समेत व्यवस्थापन भएपछि रुख कटान गरी सडक विस्तार गरिएको सडक कार्यालयका प्रमुख बासुदेव भण्डारीले बताए । सडक बिस्तारको क्रममा रुख कटान गर्नु पर्ने भयो । त्यसको लागि कानुनी प्रकृया अपनाउनु पर्ने हुँदा लामो समय सम्म काम रोकिएको थियो । रुपन्देही र पाल्पा तर्फ रुख कटानका लागि स्वीकृत भएपछि समस्याको गाँठो फुकेको उनी बताउँछन् ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी खिल बहादुर तामाङका अनुसार जाबुने सामुदायिक वनमा १ सय ३० वटा, पाखापानी सामुदायिक वनमा ९४ वटा र ठुला चिउरी सामुदायिक वनमा २४ वटा, काहुले सामुदायिक वनमा ५ वटा, ठुलो कोहल सामुदायिक वनमा २३ वटा, राष्ट्रिय वनमा १३ वटा गरी पाल्पा तर्फ २ सय ८९ वटा रुख कटान भएका थिए ।
पाल्पा तर्फको वल्ढेङगढीमा कटान भएका रुखबाट २ हजार ६३ गोलियाको ९ हजार ५७ क्यूफुट र २३ चठ्ठा दाउरा समूहलाई हस्तान्तरण गरिएको हो । समूह भित्र नै खपत हुन नसक्ने भएको अवश्थामा समूह बाहिर निकासी गर्नु परेको खण्डमा सरकारी प्रचलित दर रेटमा कम नहुने गरी लिलामको माध्यम बाट विक्रीको प्रकृया अगाडि बढने जनाइएको छ ।