© २०२३
सम्माननीय प्रधानमन्त्री केपी बा !
सादर नमन ।
डोजर आदिले दिनदिनै खदुल–खादुल पारेर विक्षिप्त पारिएकी प्रकृति माताको आशीर्वादले आजका मितिसम्म आरामै छौँ र हजूरको आरामताको लागि पनि उनै मातासँग प्रार्थना गरेका छौँ । खासै लेख्नु नै पर्ने उल्लेखनीय विषय त केही थियो या थिएन त्यो जान्न सकिन तर पनि केही समयदेखि हजूरमा आएको अकल्पनीय परिवर्तनका कारणले कसैले पनि गलत भनिरहँदा सहन गर्ने शक्ति नभएका हामीले हजूरलाई पनि केही नलेखी बस्नै सकेनौँ । हाम्रो धर्मशास्त्रमा उल्लेख गरिएको “शत्रोरपि गुणा वाच्या दोषा वाच्या गुरोरपि” भन्ने श्लोकांश जसलाई ज्योतिर्विद्, इतिहासविद् नयराज पन्तले पटक पटक सम्झाइरहन आफुले लेखेका वा सम्पादन गरेका ग्रन्थमा उल्लेख गर्नुहुन्थ्यो, यसको अर्थ– शत्रुका पनि गुणहरू छन् भने ती गुणहरूलाई ग्रहण गर्नू । त्यस्तै गुरुका नै दोषहरू छन् भने पनि गुरुलाई नम्र साथले ती दोषहरूको बारेमा बताउनू भन्ने हुन्छ । अर्थात् हाम्रा शास्त्रले शत्रु नै भए पनि उसमा गुणहरू छन् भने ती गुणहरूको अबलम्बन गर, तर गुरु नै हुन् भने पनि उनका दोषहरू छन् भने तिनको ग्रहण नगर भन्ने उपदेश दिएको छ । यस खालको उपदेश जल्ले मान्दछ त्यो नै स्वाभिमानी र सफल मानिस हो । तर यसको विपरित जसले सत्य असत्यको ख्याल नगरी आँखामा पट्टी बाँधेर असत्यका पक्षमा काम गर्दछ र गराउनका लागि आफ्ना गुरुलाई सघाउँदछ त्यस्तालाई नै हाम्रो भाषामा झोले भन्ने गरिन्छ । कसैको झोला बोक्दैमा झोले हुँदैन । तर गलत विचाररूपी झोला बोक्नेलाई नै झोले भनिएको हो ।
हामी आफु ठ्याक्कै व्यवस्था परिवर्तन गर्दैमा केही भइहाल्छ भन्ने पक्षका मानिस होइनौँ । त्यसैले न त २०६५ को शासकीय परिवर्तनका पक्षमा त्यसरी लागियो न त अहिले नै पुनः व्यवस्था परिवर्तन गर्नका लागि लागिएको छ नै । हामी त “धर्मेण शासिते राष्ट्रे न च बाधा प्रवर्तते” अर्थात् धर्मरूपी अदृश्य शक्तिलाई साथमा लिएर शासन गरिरहेको राष्ट्रमा कुनै पनि विघ्न बाधा आउँदैनन् भन्ने विचारको मानिस भएकाले धर्म विनाको शासन व्यवस्था कहिले पनि टिक्दैन भन्नेमा नै छौँ । यही नै हाम्रो शाश्वत सनातन हामीले प्रत्यक्ष देखिआएको प्रमाणित कुरो हो । त्यसैले बुझ्न पर्ने विषय के हो भने हाम्रा राजाहरूमा केही समस्या आएकाले नै शासन परिवर्तन भएको हो भने अहिले पनि तपाइँहरूमा समस्या आएकाले नै जनताहरू सडकमा आएका हुन् । गीत सङ्गीतका माध्यमले हजूरहरूलाई जगाएका हुन् । कविताका माध्यमले च्वास्स पारेका हुन् । त्यसैले यस किसिमका सत्य विषय सम्बोधन गर्नुको साटो अनावश्यक रूपमा झोले बन्नका लागि हजूरबाट भएको आह्वानले न त तपाइँको कल्याण गर्दछ, न जनताको त, न त राष्ट्रको नै । जनताको आवाजलाई अर्कै रूपमा प्रस्तुत गरी तपाइँका अगाडि ज्यू हजूरी गर्ने ती किराहरू नै तपाइँलाई सिद्ध्याउने वम बोकेका झोलेहरू हुन् ।
त्यस्तै शास्त्रले भन्दछ – “विषादपि अमृतं ग्राह्यम्” अर्थात् विषबाट पनि अमृत लिने प्रयास गर । तर हामी अधिकांशको काम के हुन्छ भने अमृतमा पनि विष खोजिरहेका हुन्छौँ । यस्तै खालको काम तपाइँबाट अकल्पनीय रूपमा भएको छ । यहाँको धर्म, संस्कार र संस्कृतिलाई मासी देशलाई विगार्न आएको माओवादीले पृथ्वीनारायणको विषयमा गर्ने टिप्पणीले खासै अर्थ राख्दैनथ्यो । तर तपाइँ त पृथ्वीनारायणको योगदानलाई राम्ररी बुझेको जस्तो हामीलाई लाग्थ्यो । तर तपाइँले बुझेर पनि बुझ पचाउनु भयो या माओवादी परिचालन गर्नेकै प्रिय हुन पुग्नुभयो । पृथ्वीनारायणप्रतिको टिप्पणीले राम्रो चाहिँ तपाइँ र तपाइँको पार्टीलाई पक्कै गरेन । पृथ्वीनारायण शाहका बारेमा जान्न नयराज, महेशराज, दिनेशराज आदि विद्वान्हरूले लेखेका कुराहरू पढ्नोस् । कुनै विदेशीले हाम्रो देश विगार्नका लागि लेखेका र हाम्रा भन्नेहरूले अनुवाद गरी लेखेका विषयहरू पढ्दा त यस्तै गलत भइने नै हो । अपुरा र मिथ्या ती इतिहासका विषय पढेर जसले जनतालाई भ्रममा पार्दछन् ती नै विदेशीहरूका वास्तविक झोलेहरू हुन् ।
प्रसङ्ग अनुसारको अर्को विषय के हो भने राष्ट्र हितका लागि स्वधर्म, स्वसंस्कार र स्वसंस्कृतिरूपी झोला बोक्नेहरू झोले होइनन् । यस किसिमका धेरै प्राध्यापक, शिक्षक एवम् कर्मचारी रहेका पनि छन् । बहुदलीय व्यवस्थामा कुनै पार्टीसँग सम्बन्धित त हुनै पर्यो । तर त्यस किसिमको हुने क्रममा पनि आफ्नो अस्तित्वका साथ सत्य कुरा बोल्नेलाई झोले भनिँदैन । बरु आफ्नो कर्तव्य सम्झेर विद्यार्थीहरूलाई अध्यापन गराउनुको साटो देशको परिस्थितिको उल्टो रिपोर्ट गरी कुनै पदका लागि तपाइँका नजिक भइरहने आशेपाशे नै झोले हुन् । उनीहरूको झोला भित्रबाट आउने गलत रिपोर्टले नै तपाइँलाई विस्तारै अलोकप्रिय बनाइरहेको अवस्था छ । होला मानिस भएपछि गल्ती सबैका हुन्छन् । जे पायो त्यही फेसबुकमा लेख्ने, भारतलाई गाली गरेरै राष्ट्रभक्त हुने आदि रोग बालेनले पनि देखाएका हुन् । तर उनको कामको अगाडि यी सबै कुरा गौँड बने । उनले छोटो समयमा काठमाडौँमा गरेको परिवर्तनलाई तपाइँका झोलेहरूले जतिसुकै गलत रिपोर्ट गरे पनि जनताले न्याय गर्ने दिन चाँडै आउनेछ । यस्तै प्रकारले तपाइँलाई गलत रिपोर्ट गरेर विगार्ने अर्को काम कुलमानलाई हटाउनु हो । त्यत्रो १८ घण्टा लोडसेडिङ्गलाई हटाएर यस किसिमको अवस्था देशमा ल्याउने काम कुलमानले नै गरेका हुन् । कुलमान हटेपछि कसरी अघोषित रूपमा लोडसेडिङ् जनताले बेहोर्न परिरहेको छ त्यो कुरा सिंहदरबार र बालुवाटार बस्ने तपाइँलाई पत्तो नै छैन । बाहिर हामीले भोगेको कुरा तपाइँले झोले बन्न आग्रह गरेका विष्णु रिमाल आदि झोलेहरूले तपाइँसम्म पुग्नै दिएका छैनन् ।
हामीले धेरैपटक तपाइँले गरेका राम्रा कुराहरू गर्दा हामीलाई पनि तपाइँकै झोले भएको आरोप अवसरवादी, कर्तव्य विर्सेका टपरटुइयाँ बुद्धुजीवीहरूले गरेकै हुन् । कसैले गाली गरून् कि माया गरून् हामीलाई त्यसमा कुनै चिन्ता नै छैन । हामी त शिक्षण या अरू कुनै पनि पेशोमा लागेका देशको स्वाभिमानी, राष्ट्रप्रेमी नागरिक भएको नाताले सत्य कुरा कसैको पनि लेखिरहेका हुन्छौँ । त्यसैले तपाइँले संस्कृतका श्लोकहरू भट्याएर हाम्रा ऋषिमुनीहरूको प्रशंसा गर्दा तपाइँका पक्षमा फेसबुक रङ्गाइयो भने तपाइँका म पनि झोले हुँ भन्ने शिष्य विष्णु पौडेलले कालीगण्डकी डाइभर्सनका प्रकृतिविरोधि र सभ्यता विरोधि कुरा गरेर जनतालाई विकासका नामको विनासको झोला फ्याकिरहँदा विरोध गर्ने काम पनि गरिएको हो र गरिँदै छ । त्यस्तै आफुलाई प्रजातान्त्रिक विचार बोक्ने काँग्रेस भित्र हुने गरेका रामहरि खतिवडा आदिका धर्मविरोधि कुराको विरोध र धर्मरक्षक शङ्कर भण्डारीको कुराको सपोर्ट पनि गरिएकै छ । एवम् प्रकारले स्वतन्त्र पार्टीकी एकजना महिला केन्द्रिय सदस्यले मैले बाहिर सरेको बेलामा भाइहरूलाई तिहारको टिका लगाइदिएर ठुलै क्रान्तिकारी काम गरेँ भनेर फेसबुक रङ्गाउँदा गतिहरी नै विरोध पनि गरिएकै छ भने धर्मका पक्षमा कुनै पनि पार्टीका सदस्यले सकारात्मक सपोर्ट गर्दा झोलाका रङ्गका आधारमा त्यसको समर्थन नगर्ने काम पनि कहिले गरिएको छैन ।
यस किसिमको काम हामी स्वाभिमानी नागरिकले गरिरहँदा फेरि तपाइँका झोलेहरू जो एसमाजवादी तिर जाने कि एमालेतिरै बस्ने भनेर कुनामा लुकेर बसेका थिए, अहिले एसमाजवादीमा खान नपाइने भएपछि तपाइँसँगै आएका छन् उनीहरू जो प्राध्यापक, शिक्षक, रिटायर्ड कर्मचारी वा अन्य कुनै कार्यकर्ताका रूपमा छन् तिनीहरूले कुनै पद वा पदक खाने लोलुपताका साथ तपाइँको सेरोफेरोमा जी हजूरी गरिरहेकै छन् । तिनीहरू हुन् तपाइँले झोले बन्न आह्वान गरिरहेका वास्तविक झोलेहरू ।विश्वको सबैभन्दा प्राचीन सभ्यता यही हाम्रो देशमा हुनु हाम्रो लागि गौरवको विषय हो । यही देशमा नै विभिन्न आस्तिक एवम् नास्तिक दर्शनहरू छन्, सबै धर्म र सबै सम्प्रदायका लागि पूज्य साझा उपनिषद्हरू छन् । यस्ता आफ्ना अमृत विषय छोडेर अर्कै देशको अवस्था परिवर्तनका साथ तात्कालिक समस्याको समाधानका लागि निस्केका विचारहरू हजूरहरूलाई प्रिय लागेका छन् । विदेशीहरूका फोटाहरू हजूरहरूको कार्यक्रममा टङ्गाइन्छन् भने यहीँ जन्मेका बुद्ध, जनक, सीता, पृथ्वीनारायण आदि तपाइँहरूका लागि के के बन्छन् बन्छन् । इतिहास–पुराण हजूरहरूका लागि काल्पनिक कुरा लाग्दछन् भने विदेशीले लेखिदिएका इतिहासका कुरा वास्तविक लाग्दछन् । हिन्दू–धर्म सभ्यता तहसनहस पार्न लेखिदिएका अम्बेडकरवादी भन्नेहरूका मनगढन्ते कुरा पढेर इतिहास र सभ्यताका भाषण दिनुहुन्छ । यसको कारण के त भने हजूरहरू साँच्चै विदेशी विचारका झोले नै हुनुहुन्छ ।
अन्त्यमा हेर्नोस् बा ! अहिले हजूर पार्टीको नेता मात्र नभएर देशको प्रधानमन्त्री हुनुहुन्छ । सबैको साझा हुनुहुन्छ । तपाइँले आह्वान गरे अनुसार माथि भनिएका लक्षण अनुसारको झोले हामी हुन सक्दैनौँ । त्यसैले तपाइँले पनि हाम्रो सनातन धर्म संस्कार र सभ्यता जो विश्वकै पुरानो सभ्यता हो भने यो सभ्यताले सबैको कल्याण सोँच्छ, मानिस मानिसमा भेद देख्दैन, ज्ञानको भण्डार हो, विज्ञानको भण्डार हो यस खालको पूर्णज्ञानलाई त्याग्न लगाएर, जनतालाई खलाती बनाउने खालले, मतिहिन र गतिहिन बनाउने खालले विदेशी विचार र अन्धभक्तको झोला बोक्ने म झोले हुँ भन्ने पाठ नपढाई म त “विश्वधैव कुटुम्बकम्” को नारा लगाउने सतातन सभ्यताको ज्यूँदो जाग्दो नेपाल आमाको सपुत हुँ, म कसैको सही विचार र कामको झोला बोक्ने सिपाही हुँ तर टुटवाद, फुटवाद र लुटवादका लागि विदेशबाट आयातीत कुविचारको झोले होइन भन्ने पाठ पढाउनोस् । यसैमा हामी सबैको कल्याण छ ।