© २०२३
नवलपरासी, ७ मंसिर ।
पश्चिम नवलपरासीको बर्दघाटमा खुकुरी प्रहार गरी फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । बर्दघाट–४ को एक खाजा पसलमा मंगलबार राति दुई जनामाथि खुकुरी प्रहार गर्ने अभियुक्तलाई प्रहरीले बुधवार बिहान पक्राउ गरेको हो ।
खुकुरी प्रहार गरेकामध्ये एक जनाको मृत्यु भएको छ भने एकको गम्भीर अवस्थामा उपचार भईरहेको छ । हत्या अभियोगमा बर्दघाट २ का ५० वर्षीय ज्ञानेन्द्रबहादुर राना पक्राउ परेको र उनले हत्या गरेको स्वीकार गरेको प्रहरी उपरीक्षक ऋषिराम कडेलले जानकारी दिए ।
अभियुक्त रानाले पसलधनी ४२ वर्षीय विष्णु कुमारी काउछा र कोठामा बसेका ४६ वर्षीय दिलिपकुमार पुनमाथि टाउकोमा खुकुरी प्रहार गरेर फरार भएका थिए । खुकुरी प्रहारबाट गम्भीर भएका पुनको उपचारका क्रममा गएराति नै मृत्यु भएको थियो । मृतक बडीघाट गाउँपालिका–४, बाग्लुङका हुन् । चिन्ताजनक अवस्थामा भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेकी विष्णु पनि बडीघाटबाट बर्दघाट आएकी हुन् । विष्णुका श्रीमान भने बाग्लुङमै छन् ।
दुई छोराहरु कोरिया र रोमानियामा कामको शिलशिलामा छन् । विगत ४÷५ वर्षदेखि विष्णुले एक्लै बर्दघाटमा खाजा पसल सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । मृतक पुन र विष्णुबीच नाता दाजुबहिनी रहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।