© २०२३
गुल्मी, ६ मंसिर ।
गुल्मी क्षेत्र नं १ को मतगणनाको विषयमा सर्वदलीय सहमति जुटन नसकेपछि भोलि बिहान पुनः सर्वदलीय बैठक बस्ने भएको छ । बैठकपछि मात्र मतगणना कति बजेदेखि गर्ने भन्ने बिषयमा आधिकारिक निर्णय हुने मुख्य निर्वाचन अधिकृत बषन्तराज पौडेलले जानकारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आयोगको निर्देशन अनुसार मत गणना गर्ने भने पनि केही राजनीतिक दलहरूले त्यस विषयमा सहमति जनाउन सहमत नभएपछि बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा पुनः बैठक बस्ने गरी बैठक स्थगित भएको हो ।
गुल्मीको क्षेत्र नं १ अन्तर्गत कालिगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको क र ख केन्द्रमा स्थगित भएको मतदान आज शान्तिपुर्ण रूपमा सम्पन्न भएको छ
। मंसिर ४ गतेको निर्वाचनमा निर्वाचन अधिकृतले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मत पत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मत पत्र दिएको भन्दै उक्त मतदान केन्द्रमा निर्वाचन स्थगित भएको थियो ।
१३ सय ६९ मतदाताहरू रहेको उक्त केन्द्रमा आज भएको निर्वाचनमा ९ सय १६ मत खसेको बताईएको छ । मतदान सम्पन्न भएपछि मतपत्रहरू अहिले सदरमुकाम तम्घास ल्याईदै गरिएको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बताए ।