© 2026
नेपालगञ्ज ।
धारा नेपालगन्ज म्याराथनको १२ औँ संस्करण शनिबार नेपालगन्जमा आयोजना हुने भएको छ । सन् २०१५ देखि निरन्तर सञ्चालन हुँदै आएको म्याराथनको यस वर्षको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
यस वर्षको म्याराथनमा विभिन्न उमेर, समूह र क्षेत्रका धावकलाई समेट्दै १२ वटा विधामा प्रतिस्पर्धा हुनेछ । नेपालगन्जको बीपी चोकबाट सुरु हुने दौडमा राष्ट्रिय तथा स्थानीय खेलाडीसँगै विद्यालयका विद्यार्थी, बालबालिका, ज्येष्ठ नागरिक, कर्पोरेट क्षेत्रका प्रतिनिधि र फरक क्षमता भएका व्यक्तिहरूको सहभागिता रहनेछ ।
म्याराथनका अध्यक्ष टीएस ठकुरीका अनुसार यस वर्ष प्रतियोगितालाई थप समावेशी र समुदायमुखी बनाउन १२ वटा सामुदायिक संस्थालाई कम्युनिटी पार्टनरका रूपमा जोडिएको छ ।
प्रतियोगिता अन्तर्गत ४२ किलोमिटर पुरुष खुला म्याराथन, २१ किलोमिटर महिला हाफ म्याराथन, १० किलोमिटर महिला तथा पुरुष खुला दौड र पाँच किलोमिटर महिला तथा पुरुष खुला दौड सञ्चालन हुनेछन् ।
त्यसैगरी विद्यालयस्तरीय छात्रछात्रा दौड, तीन किलोमिटर कर्पोरेट रन, किड्स रन, ह्वीलचेयर रन, दुई किलोमिटर फेमिली रन र तीन किलोमिटर रन फर अल पनि समावेश गरिएको छ ।
प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र धावकमैत्री बनाउन केही विधामा विशेष व्यवस्था गरिएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार ४२ किलोमिटर खुला म्याराथनमा महिलाले पनि आफ्नो व्यक्तिगत समय अभिलेख गर्ने उद्देश्यले सहभागी हुन चाहेमा विद्युतीय चिप्स उपलब्ध गराइनेछ । त्यस्तै, २१ किलोमिटर महिला हाफ म्याराथनमा पुरुष धावकले समेत आफ्नो व्यक्तिगत समय सुधारका लागि दौडिन सक्ने व्यवस्था मिलाइएको छ ।
यस वर्षको म्याराथनमा उमेर समूहका धावकलाई पनि विशेष प्राथमिकता दिइएको छ । ४२ किलोमिटर दौडमा ४० देखि ५० वर्ष, ५० देखि ६० वर्ष र ६० देखि ७० वर्ष उमेर समूहका धावकको छुट्टाछुट्टै वरियताक्रम निर्धारण गरिनेछ । प्रत्येक उमेर समूहबाट पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने धावकलाई प्रोत्साहन गरिने आयोजकले जनाएको छ ।
विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने धावकलाई मेजर म्याराथन तथा वल्र्ड एथलेटिक्सअन्तर्गतका प्लेटिनम, गोल्ड, एलिट र लेभल रेसमा सहभागी हुने अवसर प्रदान गरिने अध्यक्ष ठकुरीले बताए ।
म्याराथनका टाइटल स्पोन्सर केएल दुगड ग्रुपका प्रमुख कार्यकारी अधिकृत प्रदीप छाजेडले सामूहिक प्रयास र सहकार्यकै कारण नेपालगन्ज म्याराथनको अभियान सफल हुँदै गएको बताए । उनले आगामी दिनमा पनि म्याराथनलाई थप उचाइमा पु¥याउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।