© 2026
सल्यान ।
सल्यान जिल्लाका कतिपय भेगमा मोबाइल फोनमा कुरा गर्न अझै पनि घाम लाग्नैपर्ने बाध्यता छ । नेपाल टेलिकमका टावरहरूमा जडान गरिएका सोलार ब्याट्रीको म्याद सकिएपछि घाम लागेको बेला केही घण्टा मात्र नेटवर्क चल्ने र घाम अस्ताएसँगै सञ्चार सम्पर्क विच्छेद हुने समस्याबाट सल्यानवासी आजित छन् ।
जिल्लाको यही विकराल सञ्चार समस्या समाधान र सेवा विस्तारको माग गर्दै सल्यानबाट प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई प्रत्यक्ष भेटेर लिखित ध्यानाकर्षण पत्र बुझाएका छन् । सिंहदरबार स्थित मन्त्रालयमा पुगेर सांसद मल्लले तत्काल टेलिकमको सेवा सुधारका लागि ६ बुँदे मागपत्र पेस गरेका हुन् ।
सल्यानमा हाल नेपाल टेलिकमका ४१ भन्दा बढी टावर सञ्चालनमा रहे पनि तीमध्ये १७ वटा टावर सोलार ब्याकअपकै भरमा चलिरहेका छन् । ती टावरका ब्याट्रीहरूको आयु समाप्त भइसकेको टेलिकमकै प्राविधिकहरूले बताउने गरेका छन् । जसका कारण विद्युत अवरुद्ध हुँदा वा घाम नलाग्दा सिंगो बस्ती नै सञ्चार विहीन बन्नुपरेको सांसद मल्लले मन्त्रीसमक्ष गुनासो राखे ।
सोलारको भरमा रहेका ती टावरहरूमा तत्काल विद्युत लाइन जडान गर्नुपर्ने उनको मुख्य माग छ । तर नेपाल विद्युत प्राधिकरणले आफ्नो कार्यक्षेत्र नभएको भन्दै पन्छिने र नेपाल टेलिकमले बजेट नभएको बहाना बनाउने प्रवृत्तिका कारण टावरमा बिजुली जोड्न नसकिएको पत्रमा उल्लेख छ । यो समस्या सल्यानको मात्र नभई देशभरकै रहेकाले संघीय सरकारको मन्त्रीस्तरबाटै समन्वय गरी तत्काल बिजुली जडान गर्न र पुराना ब्याट्री फेर्न मल्लले आग्रह गरेका हुन् ।
त्यस्तै जिल्लामा निर्माणाधीन अवस्थामा रहेका ४ वटा टावरको काम तत्काल सक्न पनि उनले ध्यानाकर्षण गराएका छन् । कुमाख गाउँपालिका ३ चिनाली, दार्मा गाउँपालिका ३ र ६ तथा त्रिवेणी गाउँपालिका ३ मा बनिरहेका टावरहरू छिटो सञ्चालनमा ल्याउनुपर्ने तथा टेलिकमको योजनामा परिसकेका एक दर्जन भन्दा बढी स्थानमा बजेट छुट्याएर तत्काल निर्माण थाल्नुपर्ने उनको माग छ । अहिले पनि सल्यानका धेरै बस्ती सञ्चारको पहुँचबाहिर रहँदा नागरिकको दैनिक जीवन, सरकारी सेवा प्रवाह र विद्यालयको पठनपाठनसमेत प्रभावित भएको सांसद मल्लले बताए ।
उनले कालीमाटी गाउँपालिका, ७ को स्वामीबास र कुशुनतरा, कालीमाटी, २ को कोछटे र नयाँगाउँ तथा बनगाड कुपिण्डे नगरपालिका, १२ को दुरुमखोला आसपासका बस्तीमा नयाँ टावर राख्न माग गरेका छन् । यसैगरी सिद्धकुमाखको उचाल्ने, कुमाख, ५ को वडा कार्यालय तथा निगालखोला र बागचौर नगरपालिका, ४ को सिमाखोली लगायतका क्षेत्रमा पनि नयाँ टावर स्थापना गर्न विशेष प्राथमिकता दिन अनुरोध गरिएको छ । ध्यानाकर्षण पत्रमार्फत सांसद मल्लले गुणस्तरीय इन्टरनेटका लागि जिल्लाका सबै पालिका र वडा केन्द्रसम्म अप्टिकल फाइबर (सञ्चार हाइवे) विस्तार गर्नुपर्ने तथा संस्थागत सामाजिक उत्तरदायित्वको बजेटबाट दुर्गमका विद्यालय र स्वास्थ्य केन्द्रमा सूचना प्रविधि (आइटी) सेवा पु¥याउनुपर्नेमा जोड दिएका छन् ।