Butwal Today

घुमफिरमा रमाउँदै पर्यटक

८ मंसिर २०८३, मंगलवार
अ
अ+
अ-

दाङ ।
दाङको तुलसीपुर उपमहानगरपालिका –७ मा रहेकोे पर्यटकीय स्थल गणेशपुर पार्कमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । हरियाली वातावरण, शान्त परिवेश र प्राकृतिक सौन्दर्यले भरिएको पार्क आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको हो । बिदाको दिन तथा फुर्सदको समयमा परिवार र साथीभाइसँग घुम्न आउने पर्यटकले पार्कमा रौनक थप्ने गरेका छन् । पार्कमा घुम्न आउने पर्यटकमध्ये दाङका विभिन्न स्थानसँगै बाहिरी जिल्लाका मानिससमेत रहेका छन् । परिवारसहित घुम्न आउने, साथीभाइसँग रमाइलो गर्ने र प्रकृतिसँग समय बिताउने पर्यटकको उपस्थितिले पार्कमा चहलपहल बढाएको छ ।
दंगीशरणकी रीता चौधरी परिवारसँगै गणेशपुर पार्क घुम्न आएकी थिइन् । परिवारका सदस्यसँग रमाइलो गर्दै पार्कमा समय बिताउन पाउँदा आफूलाई खुसी लागेको उनले बताइन् । दैनिक व्यस्तताबाट केही समय छुट्टिएर परिवारसँग घुमफिर गर्न पाउनु आनन्ददायी भएको उनको भनाइ थियो । विभिन्न मुर्ति र थरीथरीका फुलमा फोटो खिचाउदा समय गयको पत्तो भएन, उनले भनिन् । विभिन्न जातजातिका पोसाकमा फोटो खिच्ने ब्यबस्था रहेछ झनै खुशी लागेको उनले बताइन् ।
त्यस्तै, बर्दिया राजापुरकी मञ्जु खनाल पनि गणेशपुर पार्क घुम्न आएकी थिइन्। बाहिरी जिल्लाबाट दाङ घुम्न आएकी उनले पार्कको वातावरण र हरियालीले आफूलाई आकर्षित गरेको बताइन् । नयाँ ठाउँको अवलोकन गर्दै प्रकृतिसँग रमाउन पाउनु घुमफिरको विशेष आनन्द भएको उनको अनुभव थियो ।
पार्कमा आउने पर्यटकले फोटो खिच्ने, साथीभाइ तथा परिवारसँग कुराकानी गर्ने र खुला वातावरणमा समय बिताउने गरेका छन् । बालबालिका खेल्दै रमाइरहेका हुन्छन् भने युवायुवती तथा अन्य आगन्तुक पार्कको प्राकृतिक सौन्दर्यमा रमाउने गर्छन ्। सहरको कोलाहल र दैनिक कामको व्यस्तताबाट केही समय टाढा रहेर शान्त वातावरणमा घुमफिर गर्न पाइने भएकाले गणेशपुर पार्क पर्यटकको रोजाइमा पर्न थालेको छ । हरियाली र खुला क्षेत्रले आगन्तुकलाई आकर्षित गरेको छ ।
पर्यटकको चहलपहल बढेसँगै पार्क आसपासको क्षेत्र पनि चलायमान बन्न थालेको छ । प्राकृतिक सौन्दर्य र रमाइलो वातावरणका कारण गणेशपुर पार्क अहिले घुमफिरको रोजाइमा पर्न थालेको छ । राप्ती शान्ति उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुधिर केसीका अनुसार पार्कलाई व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको छ ।
“गणेशपुर पार्कलाई पर्यटकको आकर्षणको केन्द्र बनाउने हाम्रो लक्ष्य छ । यहाँ आउने पर्यटकले प्राकृतिक वातावरणमा रमाउन र परिवारसँग समय बिताउन सकून् भन्ने उद्देश्यले पार्कको व्यवस्थापन तथा पूर्वाधार विकासमा ध्यान दिएका छौँ,” अध्यक्ष केसीले भने । उनले पार्कको सौन्दर्य संरक्षण गर्दै पर्यटकका लागि थप सुविधा विस्तार गर्ने र स्थानीयस्तरमा पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको बताए । प्राकृतिक सौन्दर्य र रमाइलो वातावरणका कारण गणेशपुर पार्क अहिले घुमफिरको रोजाइमा पर्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?