© 2026
बुटवल । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ३२ खेल कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लामा सञ्चालन हुने भएका छन्। प्रतियोगिताका अधिकांश खेल कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुनेछन्। सुर्खेतमा मात्रै २३ खेल सञ्चालन गर्ने तयारी गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको खेल तालिकाअनुसार कर्णाली प्रदेशका पाँच र लुम्बिनी प्रदेशका दुई जिल्लामा प्रतियोगिता सञ्चालन गरिनेछ।
सुर्खेतमा एथलेटिक्स, फुटबल, क्रिकेट, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुलकन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई–स्पोर्टस् र सेपाकताक्रो गरी २३ खेल सञ्चालन हुनेछन्। यी खेल वीरेन्द्रनगरस्थित मुख्य रङ्गशाला, कभर्डहल, सेनाको खेल मैदान, काँक्रेविहार र छिन्चुलगायत स्थानमा आयोजना गरिनेछन्।
लुम्बिनी प्रदेशको बाँकेको नेपालगञ्जमा पौडी र सुटिङ तथा बर्दियामा टेनिस र खो–खो प्रतियोगिता सञ्चालन हुनेछन्। त्यस्तै, कर्णाली प्रदेशको सल्यानस्थित श्रीनगर कभर्डहलमा कुस्ती र जुडो, दैलेखको नारायण कभर्डहलमा आईटीएफ तेक्वान्दो, कालीकोट कभर्डहलमा बुद्धिचाल तथा पश्चिम रुकुमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता आयोजना गरिने राखेपले जनाएको छ।
राखेपका अनुसार प्राविधिक कारणले आवश्यक परेमा खेलस्थल परिवर्तन हुन सक्नेछ। प्रतियोगिताको उद्घाटन आगामी मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ। मङ्सिर २७ गते प्रतियोगिताको समापन गरिनेछ। यद्यपि, उद्घाटन समारोहअघि नै मङ्सिर ८ गतेदेखि भलिबल, फुटबल, क्रिकेट, हक्की, सुटिङ, पौडी र टेनिसलगायत १० खेलका प्रतिस्पर्धा सुरु हुनेछन्।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० गरी ११ टोली सहभागी हुनेछन्। कुल ३८४ इभेन्ट्समा एक हजार ३३७ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई समेत पहिलोपटक नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ। यसले प्रतियोगितामा पदक जित्ने खेलाडीलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।