© 2026
बाणगंगा ।
बिहानदेखि साँझसम्म बाणगंगाको पुलमुनि गिट्टी र बालुवा चालेर दिनभर पसिना बगाउँदा पदमबहादुर न्यौपानेले दुई रुपैयाँ ज्याला पाउँथे । घरपरिवारको जिम्मेवारी, सीमित आम्दानी र कठिन परिस्थितिका बीच गुज्रिएको त्यो समय उनका लागि सहज थिएन। परिवारको पेट पाल्न कहिले मजदुरी त कहिले इन्जिनियरको भान्से र लुगा धुने काम गर्नुप¥यो। तर अभाव र संघर्षले उनको मनमा रहेको पढ्ने रहरलाई कहिल्यै मार्न सकेन। मजदुरी गर्दै अधुरो पढाइ पूरा गरेका उनी पछि शिक्षक बने। लामो समय विद्यार्थीको भविष्य निर्माणमा बिताएका न्यौपाने अहिले अवकाश जीवनमा भैँसीको स्याहारसुसार गर्दै रमाइरहेका छन्।
वि.सं. २०१५ पुस १४ गते अर्घाखाँचीको तत्कालीन सिमलपानी गाउँ पञ्चायत वडा नम्बर १ मा बुबा लालबहादुर न्यौपाने र आमा ओमकलाको कोखबाट जन्मिएका पदमबहादुरको बाल्यकाल सामान्य ग्रामीण परिवेशमा बित्यो। सानैदेखि पढाइप्रति रुचि राख्ने उनले कक्षा १ नपढी सिधै कक्षा २ बाट अध्ययन सुरु गरेका थिए। नीलकण्ठ सरबाट पढ्न थालेका उनले कक्षा २ र ३ बरको रुखमुनि बसेर अध्ययन गरे। विद्यालयको भौतिक अवस्था कमजोर थियो। केही समयपछि शिक्षकले पनि विद्यालय छोडेपछि उनको पढाइका लागि अर्को विद्यालय खोज्नुपर्ने अवस्था आयो।
त्यसपछि कक्षा ४ पटुवाचौर र कक्षा ५ खिदिममा अध्ययन गरे। जगन्नाथ र नारायण गौतम शिक्षकबाट पढ्ने अवसर पाएका उनले वि.सं. २०२९ सालमा कक्षा ५ उत्तीर्ण गरे। त्यसपछि दुई वर्ष घरायसी काममै बित्यो। वि.सं. २०३२ सालमा पदमादेवी न्यौपानेसँग विवाह भएपछि परिवारको जिम्मेवारी थपियो। परिवार चलाउन केही आम्दानी गर्नुपर्ने भएपछि उनी रोजगारीको खोजीमा निस्किए।
रोजगारीको खोजीमा उनी तत्कालीन सिद्धिपुर गाउँ पञ्चायत, हालको बाणगंगा नगरपालिका–२ पिपरामा डेरा गरी बस्न थाले। त्यतिबेला बाणगंगाको पुलमुनि गिट्टी र बालुवा चाल्ने काम पाए। दिनभर काम गरेबापत दुई रुपैयाँ ज्याला पाउँथे। करिब एक महिना उनले यही काम गरे।
त्यसपछि पिपरामै इन्जिनियरको टोलीसँग भान्से र लुगा धुने काम गर्न थाले। डेढ वर्ष काम गर्दा मासिक १८० रुपैयाँ तलब पाउँथे। पछि सोही टोलीसँग दाङको भालुवाङ पुगे। त्यहाँ पनि डेढ वर्ष काम गरे। यस अवधिमा उनको तलब बढेर २५५ रुपैयाँ पुगेको थियो। त्यसपछि दाङभन्दा केही अगाडि कालाकाटीमा समेत डेढ वर्ष काम गरे।
श्रम गरेर परिवार चलाइरहेका न्यौपानेको मनमा भने पढाइ पूरा गर्ने चाहना जीवितै थियो। त्यसैले काम र पारिवारिक जिम्मेवारीबीच उनले पुनः विद्यालय जाने निर्णय गरे। पिपरास्थित जनता माध्यमिक विद्यालयमा कक्षा ६ र ७ नपढी सिधै कक्षा ८ मा भर्ना भए। त्यतिबेला विद्यार्थी कम हुने भएकाले माथिल्लो कक्षामा भर्ना भएर पढ्न पाउने अवस्था रहेको उनी सम्झन्छन्।
कक्षा ८ को जिल्लास्तरीय परीक्षामा ९४ जना विद्यार्थी सहभागी भएका थिए। उनी राम्रो अंकसहित उत्तीर्ण भए। त्यसपछि कक्षा ९ र १० जनता माध्यमिक विद्यालयमै अध्ययन गरे। एसएलसी परीक्षा दिन साइकल चढेर तौलिहवास्थित यशोधरा माध्यमिक विद्यालय पुगे। अन्ततः वि.सं. २०३९ सालमा एसएलसी उत्तीर्ण भए। मजदुरी र पारिवारिक जिम्मेवारीका बीच पूरा गरेको यो सफलता उनका लागि जीवनकै महत्त्वपूर्ण उपलब्धि बन्यो।
एसएलसी उत्तीर्ण गरेपछि वि.सं. २०४० सालमा उनले अर्घाखाँचीको सिमलपानीस्थित करेचुलीबाट शिक्षण पेसा सुरु गरे। सुरुमा एसएलसी उत्तीर्ण नगरी शिक्षकका रूपमा काम गर्दा मासिक ३८६ रुपैयाँ पारिश्रमिक पाउँथे। शिक्षक जीवनको पहिलो तलब हात पर्दा आफू निकै हर्षित भएको उनी सम्झन्छन्। एसएलसी उत्तीर्ण गरेपछि उनको तलब ४४० रुपैयाँ पुगेको थियो। त्यतिबेला शिक्षकहरूले चार–चार महिनाको अन्तरालमा पारिश्रमिक पाउने व्यवस्था थियो।
पार्वती प्राथमिक विद्यालयमा अध्यापन सुरु गरेका उनी वि.सं. २०५० देखि २०५७ सालसम्म प्रधानाध्यापक बने। उनको कार्यकालमा विद्यालय प्राथमिक तहबाट निम्न माध्यमिक तहसम्म विस्तार भएको थियो।
वि.सं. २०५४ सालमा परिवारसहित कपिलवस्तुको बाणगगा – २ बैजलपुरमा बसाइँ सरे पनि उनको जागिर अर्घाखाँचीमै थियो। परिवार कपिलवस्तुमा र आफू रोजगारीका लागि अर्घाखाँचीमा रहनुपर्दा दैनिक यात्रा निकै कठिन थियो। बिहान ५ बजे घरबाट हिँडेर विद्यालय पुग्ने र साँझ ७ बजेतिर मात्र घर फर्किने गरेको उनी बताउँछन्।
वि.सं. २०५७ सालमा कपिलवस्तुको सुठौलीस्थित ज्ञानोदय प्राथमिक विद्यालयमा सरुवा भएपछि उनले त्यहाँ वि.सं. २०६३ सम्म अध्यापन गरे। त्यसपछि कप्टैया हुँदै बैजलपुरस्थित पञ्च आधारभूत विद्यालयमा पुगे। शिक्षणका क्रममा उनी पढाइमा मात्र सीमित रहेनन्। विद्यालयमा आयोजना हुने कार्यक्रमका लागि आफैँ कविता लेख्ने, सुनाउने र कार्यक्रम सञ्चालन समेत गर्ने गर्थे।
यसरी विभिन्न विद्यालयमा अध्यापन गर्दै उनले वि.सं. २०६७ सालमा शिक्षक सेवाबाट अवकाश पाए।
शिक्षण सेवाबाट अवकाश पाएपछि धेरैले आरामको जीवन रोज्छन्। तर न्यौपानेले भने खेतबारीमा तरकारी खेती सुरु गरे। आफ्नै खेतमा उत्पादन गरेको तरकारी बिक्री गर्न चारनम्बर, पिपरादेखि सालझण्डी सम्म पुग्थे। करिब तीन वर्षसम्म तरकारी खेती र बिक्रीमा सक्रिय रहँदा दिनमा १ हजार २०० रुपैयाँसम्म नाफा हुने गरेको उनी बताउँछन्।
पछि टाढा टाढासम्म तरकारी बोकेर बिक्री गर्न जान कठिन हुन थालेपछि परिवारको सल्लाहमा घरमै भैँसीपालन सुरु गरे। भैँसीपालन थालेको सात वर्ष भइसकेको छ। सुरुमा धेरै भैँसी पाले पनि अहिले उनीसँग पाडापाडि सहित १४ वटा भैँसी छन्। दूध बिक्रीबाट हुने आम्दानीले उनी सन्तुष्ट छन्।
अहिले उनको दैनिकी भैँसीको हेरचाह, घाँसपात, गोबर सोहोर्ने र दूध बिक्री गर्ने काममै बित्छ।
२०७२ सालमा अरूको गोरु भागेर भकारोमा आएपछि छुट्याउने क्रममा गोरुको खुट्टा आँखामा लागेर उनको बायाँ आँखाको ज्योति गुम्यो। घटना भएको केही घण्टामै भैरहवास्थित रण अम्बिका आँखा अस्पताल पुगेका उनी ६ दिनसम्म उपचारका लागि बसे। शल्यक्रिया गर्दा पनि आँखा निको नहुने चिकित्सकले बताएपछि उनी निराश हुँदै घर फर्किए।
उनका दुई छोरा र चार छोरी छन्।न्यौपानेका दुई बुहारी र एक छोरा हाल प्रदेशमा छन्।
जीवनका अनेक कठिनाइ पार गरेका उनी अहिले आफू स्वस्थ र सन्तुष्ट रहेको बताउँछन्। बाल्यकालमा बरको रुखमुनि बसेर पढेको समयदेखि दुई रुपैयाँ ज्यालाका लागि गरेको श्रम र शिक्षक बनेपछिको खुसी उनका जीवनका अविस्मरणीय अनुभव हुन्।
बाणगंगाको पुलमुनि गिट्टी चालेर जीवनको सुरुवात गरेका न्यौपाने आज आफ्नै मेहनतमा रमाइरहेका छन्। उमेरले शिक्षक सेवाबाट अवकाश दिए पनि काम गर्ने इच्छाशक्तिले उनलाई रोकेको छैन।