© 2026
भैरहवा ।
रुपन्देहीको तिलोत्तमाबाट अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको मोबाइलका विभिन्न सामग्रीसहित बोलेरो गाडी सशस्त्र प्रहरीले बरामद गरेको छ।
मंगलबार बिहान १० बजे तिलोत्तमा नगरपालिका–१३ पत्थरडाँडा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा, रुपन्देहीबाट खटिएको टोलीले चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो।
सशस्त्र प्रहरी नायव उपरीक्षक गोपीकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी पाँच लाख रुपैयाँ बराबरको मोबाइल कभर र एक लाख १० हजार रुपैयाँ बराबरको मोबाइल टेम्पर ग्लास बरामद गरेको जनाएको छ।
त्यस्तै, सामान ढुवानीमा प्रयोग गरिएको लु ३ च १३९८ नम्बरको बोलेरो गाडीसमेत बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक गोपीकृष्ण भट्टराइले बताए ।
गाडीको अनुमानित मूल्य १५ लाख रुपैयाँ रहेकोउनले बताए ।
बरामद मोबाइल कभर, टेम्पर ग्लास र बोलेरो गाडीसहित कुल २१ लाख १० हजार रुपैयाँ बराबरको सामान रहेको बताइएको छ।
बरामद सामान तथा गाडी आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको र फरार गाडी चालकको खोजी भैरहेको सशस्त्र प्रहरी नायव उपरीक्षक गोपीकृष्ण भट्टराईले जनाए ।