काठमाडौँ ।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशका कुनै पनि नागरिकलाई टेलिफोन तथा इन्टरनेट सेवाको पहुँचबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका बस्ती तथा जुगल हिमाल र आधार शिविर क्षेत्रमा सञ्चार सेवा विस्तारको मागसहित सञ्चारमन्त्री डा तिमिल्सिनालाई भेटेको स्थानीय युवाहरुसँगको छलफलमा उहाँले मानव बस्ती भएका सबै स्थानमा दूरसञ्चार सेवा पु¥याउन सम्बन्धित निकायलाई निर्देशन दिइरहेको बताए ।
मन्त्रालयमा आज भएको उक्त छलफलमा काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्य प्रदीप विष्ट, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) तथा जुगलका स्थानीय युवाहरु सहभागी थिए । सांसद विष्टले काठमाडौँ उपत्यकाभित्रै टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर प्रभावकारी नरहेको गुनासो आइरहेको उल्लेख गर्दै सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा नागरिक अझै सञ्चार सेवाबाट वञ्चित हुनुपरेको बताए । उनले विशेषगरी दुर्गम तथा हिमाली क्षेत्रमा सञ्चार सेवाको पहुँच र गुणस्तर सुधार गर्न आवश्यक पहल गर्न आग्रह गरे ।
सो क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच र गुणस्तरसम्बन्धी समस्या देशभर रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि उपलब्ध स्रोत साधनको अधिकतम प्रयोगसँगै नयाँ खरिद प्रक्रिया पनि अघि बढाइएको बताए । देशभर दूरसञ्चार सेवाको पहुँच तथा गुणस्तर सुधार्न ग्रामीण दूरसञ्चार विकास कोषको रकमसमेत परिचालन भइरहेको उनले जानकारी दिए ।
सञ्चारमन्त्री डा तिमिल्सिनाका अनुसार आगामी करिब डेढ वर्षभित्र देशभर नेपाल टेलिकमका थप एक हजार ६०० हाराहारी टेलिफोन टावर निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ । करिब रु १२ अर्ब बराबरको ठेक्का प्रक्रिया अगाडि बढेको र निर्धारित अवधिभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।
दूरसञ्चार पूर्वाधार विस्तारमा बजेटको अभावभन्दा पनि व्यावहारिक तथा प्रक्रियागत जटिलता र निर्धारित समयमा टावर निर्माण सम्पन्न हुन नसक्ने समस्या देखिएको सञ्चारमन्त्री तिमिल्सिनाको भनाइ थियो ।
अहिलेको समयमा पनि नागरिक सञ्चार सेवाको पहुँचबाट वञ्चित हुनु गम्भीर विषय भएको उनले बताए । “जहाँबाट गुनासो आएको छ, त्यहाँ तत्काल समस्या समाधान हुनुप¥यो । टावर थप्ने, क्षमता बढाउनेलगायत जे काम गरेर समस्या समाधान हुन्छ तत्काल गर्नुहोला,” नेपाल टेलिकमलाई निर्देशन दिँदै उनले भने ।
विद्युत् सुविधा नपुगेका स्थानमा उच्च क्षमताका सौर्य ऊर्जा प्रणाली तथा ब्याट्रीको व्यवस्था गरी टावर सञ्चालन गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाले निर्देशन दिए । त्यस्तै, सञ्चालनमा रहेका टावरले आफ्नो अधिकतम क्षमताअनुसार सेवा दिइरहेका छन् वा छैनन् भन्ने विषयमा नियमित निरीक्षण गर्न र समस्या देखिएका स्थानमा तत्काल क्षमता अभिवृद्धि गर्न टेलिकमलाई निर्देशन दिइएको छ ।
छलफलमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक पहाडीले जुगल गाउँपालिकामा तत्काल प्राविधिक टोली पठाएर सञ्चार सेवाको अवस्थाबारे स्थलगत अध्ययन गरिने बताए । टेलिफोन तथा इन्टरनेट सेवामा समस्या आउनुका प्राविधिक कारण पहिचान गरी आवश्यक सुधारका काम अघि बढाइने उनको भनाइ थियो । टावर निर्माण तथा सेवा विस्तारका क्रममा स्थानीयस्तरबाट समेत सहयोगको अपेक्षा गरिएको उनले बताए ।
यसैबीच, जुगल गाउँपालिकाका युवाहरूले जुगल हिमाल, जुगल भ्यु पोइन्ट तथा आधार शिविर क्षेत्रमा सञ्चार सेवा विस्तार गर्न र गाउँपालिकाका विभिन्न बस्तीमा गुणस्तरीय फोरजी सेवा सुनिश्चित गर्न सञ्चारममन्त्री डा तिमिल्सिनाको ध्यानाकर्षण गराएका छन् ।
गाउँपालिकाले ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेको सन्दर्भमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै गए पनि सञ्चार सुविधाको अभाव चुनौतीका रूपमा रहेको उनीहरूले बताएका छन् । स्थानीय युवाहरूले मेलम्ची डाँडामा रहेको टेलिफोन टावरको प्राविधिक क्षमता वृद्धि तथा मर्मत गरी गुणस्तरीय फोरजी सेवा सञ्चालन गर्न र पाङ्ग्रेप डाँडाको टावर मर्मत गरी पुनः सञ्चालनमा ल्याउन माग गरेका छन् ।