© 2026
मस्को। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सार्वभौमसत्ता र आर्थिक स्वतन्त्रता एकअर्काका परिपूरक भएको बताएका छन। उनले कुनै पनि राष्ट्रले आफ्नै आर्थिक नीति र विकासका प्राथमिकता निर्धारण गर्न नसकेसम्म राजनीतिक स्वतन्त्रता पूर्ण हुन नसक्ने धारणा राखेका हुन। रसियाको राजधानी मस्कोमा आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गर्दै प्रचण्डले विश्व इतिहास संवेदनशील मोडमा रहेको उल्लेख गरे।
रसियाको सत्तारूढ दल ‘युनाइटेड रसिया’ले आयोजना गरेको सम्मेलनमा चीन, भारत, अफ्रिका, अमेरिका र युरोपलगायत ७६ देशका ४८० प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा आयोजक दलका संयोजक भी। याकुशेभले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो भने रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले लिखित सम्बोधन पठाएका थिए। सम्बोधनका क्रममा प्रचण्डले बाह्य हस्तक्षेपबिना आफ्नो भविष्य निर्धारण गर्ने अधिकार प्रत्येक राष्ट्रमा निहित रहेको बताए। सार्वभौम समानता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित बहुध्रुवीय विश्व व्यवस्था निर्माण हुनुपर्ने उनको धारणा थियो।
उनले विकासोन्मुख मुलुकहरूले सीमित बाह्य वित्तीय केन्द्रमा निर्भर रहनुभन्दा दक्षिण–दक्षिण सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। व्यापार, लगानी र पूर्वाधार साझेदारी विस्तार गर्दै राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने उनको भनाइ थियो। त्यसैगरी, विश्वव्यापी वित्तीय संस्थाहरूलाई थप लोकतान्त्रिक र उत्तरदायी बनाउनुपर्ने उल्लेख गर्दै उनले स्थानीय मुद्रामा व्यापार तथा वैकल्पिक वित्तीय प्रणालीको विकास आवश्यक रहेको बताए।
‘ग्लोबल साउथ’का देशहरू कच्चा पदार्थका आपूर्तिकर्तामा मात्र सीमित हुन नहुने भन्दै प्रचण्डले औद्योगिकीकरण, वैज्ञानिक अनुसन्धान र डिजिटल आधुनिकीकरणमार्फत उत्पादन क्षमता वृद्धि गर्नुपर्ने धारणा राखे। नेपालको राजनीतिक तथा शान्ति प्रक्रियाको अनुभव प्रस्तुत गर्दै उनले ऐतिहासिक लोकतान्त्रिक आन्दोलन र सफल शान्ति प्रक्रियाबाट नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भएको स्मरण गराए।
नेपालको परराष्ट्र नीतिबारे चर्चा गर्दै उनले भारत र चीनको बीचमा रहेको नेपाल स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले भने, “हाम्रो भूगोल सहयोग र साझा समृद्धिका लागि पुल बन्नुपर्छ, भू–राजनीतिक प्रतिस्पर्धाको क्रिडास्थल होइन।” रसियासँग नेपालको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै प्रचण्डले शिक्षा, विज्ञान, व्यापार, पर्यटन र संस्कृतिका क्षेत्रमा सहकार्य थप विस्तार गर्न नेपाल इच्छुक रहेको बताए।
सम्बोधनको अन्त्यमा उनले कुनै पनि राष्ट्रले अर्को राष्ट्रको सम्मान गर्न नसक्ने गरी शक्तिशाली हुन नहुने र विकासको अधिकारबाट कुनै पनि देश वञ्चित हुन नहुने धारणा राखे। उनले स्वतन्त्रता, शान्ति र सामाजिक न्यायका लागि सङ्घर्षरत विश्व समुदायप्रति ऐक्यबद्धतासमेत व्यक्त गरे।