Butwal Today

विधिवत् रुपमा छठ पर्व सम्पन्न

३० कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

भैरहवा । सूर्यदेवको उपासना, आस्था र विश्वासको महापर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै विधिवत् रुपमा सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन सोमबार बिहान व्रतालु तथा श्रद्धालुहरूले छठ घाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका थिए।

छठ पर्वको अवसरमा सिद्धार्थनगर नगरपालिका गोनहियामा आयोजित जागरण कार्यक्रममा व्रतालु तथा श्रद्धालुहरू रातभरि जाग्राम बसेका थिए। भजनकीर्तन, धार्मिक गीतसंगीत र सांस्कृतिक प्रस्तुतिमार्फत उनीहरूले सूर्यदेव तथा छठी माताको आराधना गरेका थिए।

जागरण कार्यक्रमको उद्घाटन समाजसेवी अमित गुप्ताले गरेका थिए। कार्यक्रममा भारतको लखनउबाट आएका कलाकारहरूले विभिन्न धार्मिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। कलाकारहरूको प्रस्तुतिले रातभरि जाग्राम बसेका व्रतालु तथा श्रद्धालुहरूलाई थप उत्साहित बनाएको थियो। भजन र संगीतले गोनहियाको छठ घाट रातभरि भक्तिमय बनेको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै समाजसेवी गुप्ताले छठ पर्वले समाजमा आपसी सद्भाव, मेलमिलाप र एकताको बलियो सन्देश दिएको बताए। वडा नम्बर ९ मा आयोजित कार्यक्रममा पहाडी तथा मधेसी दुवै समुदायका भक्तजनहरूको उत्साहजनक सहभागिताले सामाजिक एकताको उदाहरण प्रस्तुत गरेको उनको भनाइ थियो।

उनले पहिले छठ पर्व मुख्यतः मधेसी समुदायमा सीमित रहे पनि पछिल्लो समय पहाडी समुदायसहित सबै जातजाति र समुदायले साझा रूपमा मनाउन थालेको बताए। यसले एकअर्काप्रतिको सम्मान, आत्मीयता र सामाजिक सम्बन्धलाई थप बलियो बनाएको उल्लेख गर्दै यस्ता सांस्कृतिक पर्वले नयाँ पुस्तालाई पनि मिलेर अघि बढ्न प्रेरणा दिने उनले बताए।

सूर्य भगवान्प्रति आस्था प्रकट गर्दै मनोकांक्षा पूरा हुने विश्वासका साथ छठ पर्व मनाउने गरिएको उल्लेख गर्दै गुप्ताले व्रतालु महिला तथा दिदीबहिनीहरूको समर्पणको प्रशंसा गरे। दिनभरि निर्जला व्रत बसेर रातभरि जाग्राम गर्दै पूजा आराधना गर्नु आफैँमा श्रद्धा, धैर्य र साहसको उदाहरण भएको उनले बताए।


छठ पर्वको मुख्य विधिअनुसार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि रातभरि जाग्राम बसेका थिए। त्यसपछि सोमबार बिहान उदाउँदो सूर्यलाई बाँसको सुप, ढकिया तथा पूजासामग्रीमा सजाइएका फलफूल र प्रसादसहित अर्घ्य अर्पण गरी चार दिनसम्म चल्ने छठ पर्वको समापन गरेका हुन्।


गोनहियामा पहाडी तथा मधेसी समुदायको साझा सहभागिता, रातभरि चलेको सांस्कृतिक जागरण र बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दाको भक्तिमय दृश्यले छठ पर्वलाई धार्मिक आस्थाको पर्वसँगै सामाजिक सद्भाव, सहअस्तित्व र सामुदायिक एकताको उत्सवका रूपमा स्थापित गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?