Butwal Today

बाबुको पहिचान नभएका सन्तानले नागरिकता लिँदा स्वघोषणा गर्नुपर्ने

२९ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

काठमान्डौँ ।

विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानले नेपाली नागरिकता प्राप्त गर्न स्वघोषणा गर्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनमा आएको छ । सरकारले नेपाल नागरिकता नियमावलीमा पाँचौँ संशोधन गर्दै स्वघोषणाको औपचारिक ढाँचा सार्वजनिक गरेपछि यो व्यवस्था कार्यान्वयनको बाटो खुलेको हो ।

गृह मन्त्रालयले सार्वजनिक गरेको संशोधित नियमावलीमा सम्बन्धित व्यक्ति र निजकी आमाले गर्नुपर्ने स्वघोषणाको छुट्टाछुट्टै ढाँचा समावेश गरिएको छ ।

नियमावलीअनुसार नेपाली नागरिक आमाबाट विदेशमा जन्मिएका, नेपालमा स्थायी बसोबास गर्दै आएका, विदेशी मुलुकको नागरिकता वा राहदानी नलिएका तथा हालसम्म बाबुको पहिचान नभएका व्यक्तिले स्वघोषणा गरेमा अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्नेछन् ।

ढाँचामा भनिएको छ, ‘‘नेपाल नागरिकता ऐन, २०६३ को दफा ५ को उपदफा (५ख) बमोजिम नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र हालसम्म बाबुको पहिचान नभएको बेहोरा स्वघोषणा गर्दछु ।’

नागरिकता ऐन, २०६३ को दफा ५ मा अंगीकृत नागरिकता सम्बन्धी व्यवस्था छ । दफा ५ को उपदफा (५ख) मा विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानले नागरिकता पाउने व्यवस्था छ ।

जहाँ भनिएको छ, ‘नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्ति र निजको आमाले तोकिएबमोजिम स्वघोषणा गरेमा अंगीकृत नेपाली ती नागरिकता नागरिकता प्राप्त गर्न सक्नेछ ।’

यही व्यवस्था कार्यान्वयन गर्ने गरी सरकारले पाचौं पटक नेपाल नागरिकता नियमावली संशोधन गरेको हो ।

नागरिकता नियमावली पाँचौँ संशोधन २०८३ ले यस्तो नागरिकता लिन आवश्यक स्वघोषणाको ढाँचा अनुसूची ९७ग० मा समावेश गरेको हो ।

यसअघि नेपाल नागरिकता ऐन, २०६३ को दफा ५ को उपदफा (५ख) मा नै यस्तो नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था थियो । तर आवश्यक स्वघोषणाको औपचारिक ढाँचा स्पष्ट थिएन ।

नियमावलीमा भएको संशोधनसँगै सम्बन्धित व्यक्तिले आफू नेपाली नागरिक आमाबाट विदेशमा जन्मिएको, नेपालमा स्थायी बसोबास गर्दै आएको, विदेशी मुलुकको नागरिकता वा राहदानी नलिएको र हालसम्म बाबुको पहिचान नभएको व्यहोरा स्वघोषणा गरेपछि नागरिकता लिने प्रक्रिया थप अगाडि बढ्नेछ ।

स्वघोषणा गर्ने व्यक्तिले आफ्नो नाम, थर, जन्ममिति, दस्तखत र मिति खुलाउनुपर्नेछ । त्यसमा दायाँ र बायाँ औँठाछापसमेत लगाउनुपर्ने व्यवस्था छ । स्वघोषणा गराउने अधिकृतले पनि आफ्नो नाम, पद, दस्तखत र मिति उल्लेख गर्नुपर्नेछ ।

नियमावलीले स्वघोषणाको ढाँचा मात्रै होइन, त्यसलाई गराउने आधिकारिक प्रक्रियासमेत स्पष्ट गरेको छ । अनुसूची (७ग) नियम ७ को उपनियम (१ख) को खण्ड (ङ) सँग सम्बन्धित छ ।

नियमावलीले आमाको स्वघोषणाका लागि पनि छुट्टै ढाँचा राखेको छ ।

आमाले आफ्नो सन्तान नेपाली नागरिक आमाबाट विदेशमा जन्मिएको, नेपालमा स्थायी बसोबास गरेको, विदेशी नागरिकता वा राहदानी नलिएको र सन्तानको बाबु हालसम्म पहिचान हुन नसकेको बेहोरा स्वघोषणा गर्नुपर्नेछ ।

आमाले आफ्नो नागरिकता प्रमाणपत्र नम्बर, जारी जिल्ला, जारी मिति र राष्ट्रिय परिचय नम्बरसमेत खुलाउनुपर्नेछ ।

आमा र सन्तान दुवैले गरेको स्वघोषणा सत्य भएको र झुटो ठहरे कानुनबमोजिम सहने वा बुझाउने प्रतिबद्धता जनाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?