Butwal Today

घोरदौरालाई पर्यटकीय नगरी बनाउने अर्थमन्त्री थारुको प्रतिबद्धता

२६ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

दाङ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रजित थारुले घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराको समग्र विकास गरी आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। घोरदौरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थारुले यस क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्न प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।

उनले घोरदौराको विकासका लागि निजी क्षेत्रसँग साझेदारी गर्दै लगानी भित्र्याउने र आवश्यक पूर्वाधार निर्माणका कामलाई प्राथमिकताका साथ अगाडि बढाउने बताए। पर्यटन प्रवर्द्धन र लगानीमैत्री वातावरण निर्माणमार्फत घोरदौरालाई पर्यटकीय नगरीका रूपमा विकास गर्ने उनको भनाइ थियो। प्राकृतिक सुन्दरता, भौगोलिक बनावट र पर्यटनको प्रचुर सम्भावना बोकेको घोरदौरालाई योजनाबद्ध रूपमा विकास गर्न सके दाङ जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन सकिने मन्त्री थारुले बताए।

घोरदौराको विकासले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउनुका साथै रोजगारी सिर्जना, पर्यटन व्यवसायको विस्तार र स्थानीय समुदायको आयआर्जनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। मन्त्री थारुको प्रतिबद्धताले घोरदौराको पर्यटन विकासमा सरकारी तथा निजी क्षेत्रको सहकार्यबाट नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?