© 2026
वीरगञ्ज ।
पर्साको वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्य भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार सोमबार साँझ करिब ७ः३० बजे क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलिरहेको तथा खेलाइरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–४ का ४८ वर्षीय रामचन्द्र साह, प्रसौनी गाउँपालिका–८ का ४९ वर्षीय अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का ४७ वर्षीय सुवास कुमार, परवानीपुर गाउँपालिका–५ का ३५ वर्षीय सुनिल पटेल र रौतहटको बौधिमाई नगरपालिका–९ का ५० वर्षीय सुमेश्वरनाथ प्रसाद रहेका छन् ।