© 2026
गुल्मी ।
गुल्मी कारागारका कैदीबन्दीले एकापसमा टीका र जमरा लगाएर दसैँ मनाएका छन् । आफन्तबाट टीका लगाउन नपाएकाले कारागार भित्रै ज्येष्ठ कैदीबन्दीको हातबाट टीका लगाई आशीर्वाद ग्रहण गरेका हुन् ।
कारागारका नाइके हरिबहादुर थापाका अनुसार केही कैदीबन्दीले आफन्तबाट टीका लगाएका थिए भने आफन्त आउन नसकेकाले कारागार भित्रै रहेका अग्रज कैदीबन्दीबाट टीका र जमरा ग्रहण गरेका थिए ।
हाल गुल्मी कारागारमा ९१ पुरुष र ६ महिला गरी ९७ कैदीबन्दी रहेका छन् । २५ जनाको क्षमता रहेको कारागारमा क्षमताभन्दा तीन गुणा भन्दा बढी कैदीबन्दी छन् । कारागार भित्र रहेका कैदीबन्दीले काठका सामग्री बनाउने, मुढा बुन्ने, ढाकाका कपडा तथा स्विटर बुन्ने लगायत सीपमूलक काम गर्दै आएका छन् ।
ती कामबाट उनीहरूले मासिक सात हजारदेखि ३५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।