© 2026
नवलपरासी ।
दसैँ उही हो, पात्रो उही हो, आकाशमा उदाउने घाम उही छ । गाउँघरमा बज्ने मालश्री धुन उस्तै छ, घर आँगनमा जमरा राख्ने परम्परा उस्तै छ, निधारमा रातो टिका र कानमा पहेँलो जमरा सिउरिने चलन पनि उस्तै छ । तर, समय बदलिएको छ, उमेर बदलिएको छ र सबैभन्दा धेरै बदलिएको छ– दसैँलाई हेर्ने हाम्रो दृष्टिकोण ।
कुनै समय थियो, दसैँ आउने खबरले मात्रै मन फुरुङ्ग हुन्थ्यो । असोज लाग्न नपाउँदै मनमा छुट्टै उत्साह जाग्थ्यो । विद्यालय बिदा हुने दिन गन्न थालिन्थ्यो । नयाँ लुगा लगाउने रहरले रातभरि निद्रा हराउँथ्यो । बजारबाट ल्याइएको नयाँ कपडाको पोको खोलेर पटक पटक हेर्नु, ऐना अगाडि उभिएर आफूलाई नियाल्नु र साथीहरूलाई आफ्नो नयाँ लुगा देखाउने कल्पना गर्नु नै ठुलो खुसी थियो ।
त्यति बेला दसैँ भनेको नयाँ लुगा, मीठो खानेकुरा, पिङ, चङ्गा र साथीभाइसँगको रमाइलो थियो । दक्षिणाको पैसाले के किन्ने भन्ने योजना बनाउनमै दिन बित्थ्यो । हातमा केही रुपैयाँ पर्दा आफूलाई संसारकै धनी मानिन्थ्यो । टिका लगाउन जाँदा पाइने दक्षिणा जम्मा गरेर राख्नु र त्यसलाई पटक पटक गन्नुमा बेग्लै आनन्द थियो ।
दसैँ आउनुअघि घर सफा गर्ने, आँगन लिपपोत गर्ने, घरका भित्तामा रङ लगाउने र गाउँघरका बाटाघाटा सफा गर्ने चटारो हुन्थ्यो । घरमा मासु पाक्ने दिनको प्रतीक्षा, पिङ खेल्ने हतारो र साथीभाइसँग भेट्ने उत्सुकता यी सबैले दसैँलाई विशेष बनाउँथे । त्यति बेला दुःख पनि थिए होलान्, अभाव पनि थिए होलान् । तर बाल मनले ती अभावको हिसाब राख्दैनथ्यो । अभिभावकले दुःख गरेर जुटाएको एक जोर नयाँ लुगामा पनि असीम खुसी भेटिन्थ्यो । थोरै मीठो खान पाउँदा पनि मन तृप्त हुन्थ्यो । हिजो दसैको खुसी पैसासँग कुनै तुलना हुँदैनथ्यो । पारिवारिक सामिप्यता अपनत्व र मिलनबिन्दु थियो दसैँ । अचेल मानिसहरू एक्ला भएका हुन या दसैँ एक्लो भएको हो !
घरमा जति थियो, त्यसैमा रमाउन सक्ने उमेर थियो त्यो । बालापनमा दसैँ आउँथ्यो, अहिले दसैँ ल्याउनुपर्ने भएको छ । समयले बिस्तारै हामीलाई हुर्कायो । हिजो अरूको हात समातेर टिका थाप्न जाने हामी आज आफ्ना सन्तानको हात समातेर हिँड्ने भएका छौँ । हिजो बाबुआमासँग नयाँ लुगाको माग गर्ने हामी आज छोराछोरीका लागि लुगा किन्न बजार धाउने भएका छौँ ।
हिजो दक्षिणा गनेर खुसी हुने हामी आज घर खर्चको हिसाब मिलाउन बस्ने भएका छौँ । दसैँ उही छ, तर जिम्मेवारीको सूची लामो भएको छ । घरमा चामल, दाल, तेल, नुनदेखि मासु र अन्य परिकारसम्मको जोहो गर्नुपर्छ । बालबच्चाका लागि नयाँ लुगा किन्नुपर्छ । घरमा टिका लगाउन आउने आफन्तको स्वागत गर्नुपर्छ । टाढा रहेका परिवारका सदस्यलाई घर बोलाउने व्यवस्था मिलाउनुपर्छ । ऋण छ भने त्यसको चिन्ता पनि सँगै आउँछ । आम्दानी सीमित छ, खर्चको सूची लामो छ । रहरहरू मनमै थन्क्याएर अरूका खुसीका लागि दौडिनुपर्ने अवस्था छ । पहिले एक दिनको टिकाका लागि बर्सभरि कुरिने दसै अहिले चाँडो उम्काउनु छ सक्नु छ । हिजो कहिल्यै नसकिए हुन्थ्यो दसै भन्ने बालापन अहिले जिम्मेवारीले दसैँ उम्काउनु छ ।
कहिलेकाहीँ लाग्छ, उमेर बढेसँगै खुसी हुने हाम्रो क्षमता घटेको हो कि जिम्मेवारीको बोझले मनलाई थिचेको हो ? नयाँ लुगा लगाउँदा पहिले जस्तो रोमाञ्चकता किन महसुस हुँदैन ? मन पर्ने परिकार खाँदा पनि किन पहिले जस्तो आनन्द आउँदैन ? दसैँको दिन बिहानै उठेर नयाँ लुगा लगाउने त्यो हतारो किन हराउँदै गएको छ ? हिजो बाले दिएको ५ रुपैयाँको खुसी आज लाखौँमा पनि भेटिँदैन, हिजोको माया आज कसैको काखमा पनि भेटिँदैन ।
सायद यसको उत्तर समयसँगै बदलिएको हाम्रो भूमिकामा लुकेको छ । पहिले हाम्रो खुसीको चिन्ता अरूले गर्थे । अहिले अरूको खुसीको चिन्ता हामीले गर्नुपर्छ । हिजो बुबाले नयाँ लुगा किनिदिँदा हामीलाई थाहा हुँदैनथ्यो, त्यसका लागि उहाँले कति हिसाब मिलाउनुप¥यो । आमाले मिठो परिकार पकाउँदा भान्सामा कति मेहनत गर्नुप¥यो, कति अभाव लुकाउनुप¥यो, हामीले कहाँ बुझ्थ्यौँ र ? हाम्रो अनुहारमा मुस्कान देख्न उनीहरूले आफ्ना कति रहरहरू पछि सारे, त्यसको हिसाब हामीले कहिल्यै राखेनौँ ।
आज कृत्रिम बत्तीहरूले घरहरू उज्याला त भएका छन् तर मान्छेका मनहरू अँध्यारा छन् । हिजो आफन्त भेट्दा मनदेखि नै निस्किने मुस्कान मुखमा आएर देखावटी रूपमा खुम्चिएको छ ।
सायद यही जीवनको चक्र हो । हिजो हामीले अभिभावकबाट पाएको खुसी आज आफ्ना सन्तानलाई दिन खोजिरहेका छौँ । हिजो हाम्रो अनुहारको मुस्कानका लागि उनीहरूले गरेको सङ्घर्ष आज हाम्रो जिम्मेवारी बनेर फर्किएको छ । तर यसबिचमा एउटा कुरा भने छुट्दै गएको छ आफ्नै खुसी । रोजगारीका लागि घरबाट टाढा रहेका मानिसका लागि दसैँको अर्थ झन् फरक हुन्छ । वर्षभरि परिवारबाट टाढा बसेर पसिना बगाउनेहरू घर फर्किने सपना देख्छन् । कसैका लागि टिकटको व्यवस्था चुनौती बन्छ, कसैका लागि घर फर्किन बिदा मिलाउनु कठिन हुन्छ ।
कतिपयले घर जान मन हुँदाहुँदै पनि आर्थिक अवस्थाका कारण आफ्नो रहर त्याग्नुपर्छ । घरमा टिका थाप्न पर्खिरहेका आमाबुबा हुन्छन्, छोराछोरीको बाटो हेरिरहेका आँखा हुन्छन्, तर बाध्यताले उनीहरूलाई परदेशमै रोकेको हुन्छ । यस्तो बेला दसैँ केवल चाडपर्व रहँदैन, सम्झना र अभावको अनुभूति पनि बन्छ । गाउँको बाटो, घरको आँगन, आमाको हातको खाना र बुबाको आशीर्वाद सम्झेर मन भारी हुन्छ । सामाजिक सञ्जालमा अरूका खुसीका तस्बिर देख्दा आफ्नै घरको यादले सताउँछ । यद्यपि, जिम्मेवारीले थिचिएको दसैँ सधैँ दुःखको कथा मात्र होइन । यसले हामीलाई सम्बन्धको मूल्य बुझाउँछ । परिवारका लागि गरिएको मेहनतको अर्थ सम्झाउँछ । अभावबिच पनि एक अर्काको अनुहारमा मुस्कान खोज्ने कला सिकाउँछ ।
महँगो लुगा, महँगो परिकार र भव्य उत्सवभन्दा पनि सँगै बसेर खान पाउनु, दुःखसुख साट्न पाउनु र आफ्ना मानिससँग केही समय बिताउन पाउनु कति ठुलो खुसी रहेछ भन्ने अनुभूति गराउँछ । दसैँको वास्तविक सुन्दरता पनि सायद यही हो—मनमा माया बाँकी रहनु, सम्बन्धमा आत्मीयता बाँकी रहनु र अभावबिच पनि खुसी खोज्ने साहस बाँकी रहनु ।हामीले बालापनको दसैँलाई फर्काएर ल्याउन सक्दैनौँ । समयलाई पछाडि धकेल्न सक्दैनौँ । तर त्यो समयको सरलता, आत्मीयता र सानो कुरामा खुसी हुने बानीलाई भने बचाउन सक्छौँ ।
दसैँलाई अरूभन्दा राम्रो देखिने प्रतिस्पर्धा होइन, एक अर्कासँग नजिक हुने अवसर बनाउन सक्छौँ । अन्ततः दसैँको खुसी खर्चको आकारले निर्धारण गर्दैन । ठुलो भोज, महँगा लुगा र देखावटी तडकभडकले मात्र चाडलाई सुन्दर बनाउँदैनन् । घरमा प्रेम छ, परिवारमा समझदारी छ र मनमा सन्तोष छ भने सामान्य खानपान र साधारण लुगामै पनि दसैँ विशेष बन्न सक्छ । कुनै समय हामी दसैँको प्रतीक्षामा हुन्थ्यौँ । आज हाम्रा सन्तान दसैँको प्रतीक्षामा छन् । हिजो हाम्रा लागि दसैँ ल्याइदिने हातहरू आज बुढा हुँदै छन् । आज हामीले दसैँ सजाइरहँदा भोलि हाम्रा सन्तानले पनि यस्तै सम्झनाहरू साँच्नेछन् ।
त्यसैले, दसैँमा जिम्मेवारीको बोझले आफ्ना खुसीहरूलाई पूरै नथिचौँ । आमाबुबासँग केही समय बिताऔँ । बालबालिकासँग उनीहरूकै उमेरमा फर्किएर रमाऔँ । परिवारसँग बसेर पुराना सम्झनाहरू साटौँ । मनमा गुम्सिएका कुरा सुनौँ र सुनाऔँ । सकेसम्म आफ्ना लागि पनि थोरै समय छुट्याऔँ । किनकि जीवनको यो दौडमा पैसा कमाउन, घर बनाउन र जिम्मेवारी पूरा गर्न धेरै समय पाइएला । तर बालापन फेरि फर्केर आउँदैन । बुढा हुँदै गरेका आमाबुबासँग बिताउने समय पनि सधैँ उस्तै रहँदैन । बालापनको त्यो दसैँ सम्झनामा छ, जिम्मेवारीले थिचिएको यो दसैँ यथार्थमा छ । त्यो बेला दसैँले हामीलाई खुसी दिन्थ्यो, अहिले हामी दसैँलाई खुसी बनाउन खोजिरहेका छौँ । हिजो अरूले हाम्रो निधारमा टिका लगाएर आशीर्वाद दिन्थे, आज हामी अरूको निधारमा टीका लगाउँदै आशीर्वाद दिइरहेका छौँ । हिजो हामी साना थियौँ, हाम्रा सपना ठुला थिए । आज हामी ठुला भएका छौँ, तर सपनासँगै जिम्मेवारी पनि उत्तिकै ठुला भएका छन् ।
सायद यही नै जीवन हो समय बदलिन्छ, भूमिका बदलिन्छन्, खुसी मनाउने तरिका बदलिन्छ । तर, मनको कुनै कुनामा बालापनको त्यो दसैँ सधैँ जीवित रहन्छ । र, हरेक वर्ष दसैँ आउँदा, नयाँ लुगा र नयाँ योजनाको भिडबिच पनि मन चुपचाप त्यही पुरानो आँगनमा पुग्छ, जहाँ कुनै बेला हामी निश्चिन्त भएर हाँस्थ्यौँ, खेल्थ्यौँ र दसैँलाई संसारकै सबैभन्दा सुन्दर चाड ठान्थ्यौँ । दसैँ त हरेक वर्ष आउँछ, तर बालापनको दसैँ जीवनमा एक पटक मात्रै आउँदो रहेछ ।