Butwal Today

नेपालको आँखा स्वास्थ्य सेवा : विदेशी मुद्रा आर्जनको नयाँ आधार

२ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

काठमाडौं। आँखा स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धि र अन्तर्राष्ट्रिय समुदायले देखाएको विश्वासले नेपाललाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने आधार तयार गरेको छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले विदेशी नागरिकलाई उपचार सेवा दिनुका साथै विभिन्न देशमा निःशुल्क आँखा उपचार सेवा सञ्चालन गर्दै आएका छन् ।

सङ्घको सञ्जालभित्र २८ आँखा अस्पताल र २२६ आँखा उपचार केन्द्र आबद्ध छन् । ती अस्पताल तथा उपचार केन्द्रको उत्कृष्ट सेवाका कारण आँखाको उपचारका लागि काठमाडौं वा सीमापारि धाउनुपर्ने बाध्यता अन्त्य हुँदै गएको छ । पछिल्लो समय सीमापारिबाट आँखाका बिरामी उपचारका लागि नेपाल आउन थालेका छन् । उनीहरूका लागि नेपाली आँखा अस्पताल दृष्टि जोगाउने भरोसाको केन्द्र बन्दै गएका छन् ।

नेपाली नेत्र चिकित्सकको दक्षता, आँखा स्वास्थ्य क्षेत्रमा भित्रिएका नवीन उपकरण र गुणस्तरीय सेवालाई सङ्घमा आबद्ध अस्पताल तथा केन्द्रले अधिकतम उपयोगमा ल्याएका छन् । यही विश्वास र भरोसाका कारण नेपालको आँखा स्वास्थ्य क्षेत्रमा नयाँ सम्भावना सिर्जना भएको छ ।

आँखा उपचार सेवाले देशको अर्थतन्त्रमा समेत योगदान पुर्‍याउन थालेको छ । सङ्घका प्रमुख वित्त अधिकृत सीए देवराज पन्तले नेपालको आँखा स्वास्थ्य सेवाले देशको अर्थतन्त्रमा योगदान दिन थालेको बताए ।

“नेपालको आँखा स्वास्थ्य सेवाले देशको अर्थतन्त्रमा योगदान पुर्‍याउन थालेको छ । विदेशी बिरामी नेपालको आँखा अस्पतालमा उपचार गर्न आउने क्रम बढिरहेको छ । उनीहरूबाट प्राप्त हुने आम्दानीले नयाँ सम्भावनालाई पनि उजागर गरेको छ”, उनले भने ।

उनका अनुसार नेपाल नेत्रज्योति सङ्घको सञ्जालभित्रका अस्पताल तथा केन्द्रले आर्थिक वर्ष २०८२र८३ मा विदेशी बिरामीलाई उपचार सेवा दिएबापत एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा भित्र्याएका छन् ।

“यो केवल एउटा आर्थिक तथ्याङ्क होइन, नेपाली स्वास्थ्य सेवाले अन्तर्राष्ट्रिय स्तरमा कमाउँदै गएको विश्वासको उत्कृष्ट नमुना पनि हो । गुणस्तरीय आँखा स्वास्थ्य सेवाबापत यो मुद्रा भित्र्याउनु प्रचुर सम्भावनाको ढोका खोल्नु हो”, उनले भने ।

प्रमुख वित्त अधिकृत पन्तका अनुसार विदेशी बिरामीबाट प्राप्त हुने आम्दानीले आँखा स्वास्थ्य सेवाको आर्थिक सम्भावनालाई पनि उजागर गरेको छ ।

गुणस्तरीय सेवाले बढायो जनविश्वास

उपचारका लागि नेपाल आउने विदेशी बिरामीमध्ये सबैभन्दा बढी भारतबाट आउने गरेका छन् । यसैगरी बङ्गलादेश, भुटानसहित अन्य मुलुकका नागरिकले पनि नेपाली आँखा अस्पतालको सेवा लिइरहेका छन् ।

बिरामीका आफन्तले उपचारका लागि आफ्नो बिरामीलाई अर्को देश लैजाने निर्णय गर्नु सामान्य कुरा होइन । उपचारको गुणस्तर, चिकित्सकप्रतिको विश्वास, लागत, पहुँच, सेवा प्राप्त गर्ने अवधि, विगतमा बिरामीले भोगेको अनुभव र आर्थिक अवस्थालगायत पक्षले यस्तो निर्णयमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् ।

सङ्घका कार्यकारी निर्देशक डा। शैलेशकुमार मिश्रका अनुसार आर्थिक वर्ष २०८२र८३ सम्ममा नेपाली तथा विदेशी नागरिक गरी कुल पाँच करोड दुई लाख ४८९ जना आँखाका बिरामीलाई सङ्घमा आबद्ध अस्पताल तथा केन्द्रले उपचार सेवा प्रदान गरिसकेका छन् । त्यस्तै, ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

“अनुभवी नेत्र विशेषज्ञ, आधुनिक प्रविधि तथा उपकरण, शल्यक्रियाको राम्रो नतिजा, बिरामीको सेवा, तुलनात्मक रूपमा छोटो प्रतीक्षा अवधि र सर्वसुलभ उपचार खर्चका कारण नेपालको आँखा उपचार अब्बल बन्दै गएको हो । यसै कारण सीमावर्ती क्षेत्रसहित विभिन्न देशका आँखाका बिरामी नेपाली आँखा अस्पतालमा सेवा लिन रुचाइरहेका छन्”, उनले भने ।

विदेशी बिरामीबाट हुने आर्थिक योगदान अस्पतालको बिलमा मात्र सीमित हुँदैन । उनीहरूले उपचार शुल्कबाहेक होटल, यातायात, खाना, औषधि र स्थानीय बजारमा समेत खर्च गर्न सक्छन् । उनीहरूसँग आउने परिवारका सदस्य तथा सहयोगीले गर्ने खर्चले पनि विभिन्न व्यवसायमा आर्थिक गतिविधि बढाउन सक्छ । कतिपय बिरामीले उपचारसँगै नेपालका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणसमेत गर्न सक्छन् । यसरी स्वास्थ्य पर्यटनले अस्पतालबाहिरका व्यवसाय र रोजगारीमा पनि योगदान पुर्‍याउने सम्भावना छ ।

अन्धोपन न्यूनीकरणमा नेपालको आफ्नै अभ्यास

नेपालमा रोकथाम तथा उपचार गर्न सकिने अन्धोपन न्यूनीकरण गर्ने उद्देश्यले नेपाल नेत्रज्योति सङ्घको स्थापना विसं २०३५ मा भएको थियो । त्यसबेला विशेषज्ञ आँखा उपचार सेवा सीमित क्षेत्रमा केन्द्रित थियो । ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकका लागि उपचार प्राप्त गर्न कठिन थियो ।

सङ्घका अनुसार त्यसपछि अस्पताल तथा आँखा उपचार केन्द्रको विस्तारसँगै समुदायमा आधारित आँखा स्वास्थ्य कार्यक्रम, विद्यालयमा दृष्टि परीक्षण, मोतियाबिन्दुको शल्यक्रिया र विभिन्न विशेषज्ञ सेवा विस्तार भएका छन् । समुदायमै पुगेर आँखा परीक्षण गर्ने र थप उपचार आवश्यक पर्ने बिरामीलाई अस्पतालसम्म पठाउने अभ्यासले सेवा आम नागरिकको पहुँचमा पुर्‍याउन योगदान गरेको छ ।

नेपालमा सन् १९८१ मा ०।८४ प्रतिशत रहेको अन्धोपनको दर घटेर करिब ०।२८ प्रतिशतमा आएको तथ्याङ्कले यस क्षेत्रमा भएको प्रगति देखाउँछ । सन् २०३० सम्म यो दरलाई ०।२० प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । दृष्टि जोगिनु व्यक्तिको शिक्षा, रोजगारी, आयआर्जन र आत्मनिर्भरतासँग प्रत्यक्ष जोडिएकाले यस उपलब्धिको सामाजिक महत्त्व पनि उत्तिकै छ ।

सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार संस्थाको मूल उद्देश्य सबै नागरिकलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । यही सामाजिक उत्तरदायित्व कायम राख्दै सेवा विस्तार गर्न सके नेपाली आँखा स्वास्थ्य सेवाको अन्तर्राष्ट्रिय पहिचान बढ्नुका साथै देशको आर्थिक गतिविधिमा समेत योगदान पुग्न सक्छ ।

उनले भने, “अब आँखा स्वास्थ्य पर्यटनको सम्भावनालाई व्यवस्थित रूपमा उपयोग गर्न सरकारले स्वास्थ्य पर्यटनसम्बन्धी स्पष्ट नीति बनाउन, अस्पतालको पूर्वाधार तथा प्रविधिमा लगानी बढाउन, अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तर सुनिश्चित गर्न र विदेशी बिरामीका लागि उपचार प्रक्रिया सहज बनाउन आवश्यक छ । स्वास्थ्य संस्थाबीच सहकार्य र अन्तर्राष्ट्रिय प्रवर्द्धन विस्तार गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ ।”

नेपालको आँखा स्वास्थ्य सेवा रोगको उपचार र दृष्टि पुनःस्थापनामा मात्र सीमित छैन । यसले मानवीय सेवा, अन्तर्राष्ट्रिय विश्वास र आर्थिक सम्भावनालाई एकै ठाउँमा जोडेको छ । सामाजिक उत्तरदायित्व कायम राख्दै गुणस्तरीय सेवा विस्तार गर्न सके नेपाली आँखा स्वास्थ्य क्षेत्र आर्थिक समृद्धि र विदेशी मुद्रा आर्जनको महत्त्वपूर्ण आधार बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?