© 2026
विमानस्थल निर्माण अघि यसको दिगो सञ्चालनको पक्षबारे रणनीति बनाउन नसकेका कारण नेपालको दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लगानी बालुवामा पानी हुने चिन्ता बढेको छ ।
विमानस्थल बनेपछि सवै कुरा हुन्छ भन्ने गलत मानसिकताका कारण यो विमानस्थलमा गरिएको अर्बौं लगानी डुब्ने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । यो विमानस्थलबाट उडड्यन क्षेत्रका लागि भारतको पूर्व अनुमति लिनुपथ्र्यो तर त्यो नहुँदापनि समस्या आएको गुनासो गरिएको छ ।
यो विमानस्थलमा काठमाण्डौंमा भन्दापनि राम्रो प्रविधि छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार गौतमबुद्ध विमानस्थलमा काठमाण्डौको भन्दापनि परिष्कृत मानिने ‘इन्स्ट्रमन्ट ल्यान्डिङ सिस्टम’ (आईएलएस) प्रविधि जडान गरिएको छ । यो भनेको विमानस्थलको थ्रेसहोल्डदेखि झन्डै ११ देखि १५ किलोमिटरको विन्दुमा १५०० फिटमाथि आएको जहाजलाई तीन डिग्रीको स्लोपमा धावन मार्गको विन्दुमा पु¥याउने प्रविधि हो ।
यो प्रविधिमा उपकरणको सहायतामा कम भिजिबिलिटी भएको अवस्थामा पनि विमानहरू अवतरण गराउन सकिन्छ । नेपालमा पूर्णस्तरको आईएलएस प्रविधि जडान भएका अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध र पोखरा मात्रै हुन् । तर, आज पोखरा चल्दा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्न नसक्नु चिन्ताको कुरा हो ।
यसअघि अन्तर्राष्ट्रिय उडानविहीन बनेको यो विमानस्थलबाट नियमित उडान सुरु हुने खबरले यस क्षेत्रका पर्यटन व्यवसायी निकै उत्साहित भएका थिए । थाइ एयर एसिया, अलजजीरा, कतार एयरवेज, फ्लाई दुवै लगायतअन्तर्राष्टिय उडान कम्पनीले पहिले ठूलो आशा देखाए तर पछि हात झिके । २०७९ साल जेठ २ गते २५६६औं बुद्ध जयन्तीका अवसरमा औपचारिक रूपमा उद्घाटन भएको विमानस्थलबाट प्रारम्भिक चरणमा नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा एयरवेज, थाइ एयर एसिया र हिमालय एयरलाइन्सले व्यावसायिक उडान गरेका थिए ।
तर, अहिले सवैले हात झिकेको अवस्था छ । उडान नहँुदा पर्यटन व्यवसाय चल्ने अवस्था छैन । त्यसैले अहिले धेरै व्यवसायीलाई ऋणको किस्ता र ब्याज तिर्न समेत संकट परेको अवस्था छ ।
सरकारले विदेशी विमान कम्पनी आकर्षित गर्न सरकारले भैरहवा र पोखरा विमानस्थलका लागि विभिन्न छुटका व्यवस्था गरेको थियो । अन्तर्राष्ट्रिय यात्रु सेवा शुल्कमा तीनहजार रुपियाँसम्म छुट, पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छुट, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट र इन्धनमा सय डलरसम्मको छुटको व्यवस्था गरिएको थियो । तर, त्यति हुँदापनि उडान हुन सकेको छैन् । यो ठूलो चिन्ताको कुरा हो ।
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नहोस भन्ने मनसाय कसैको छ भने त्यो दरिद्र मानसिकताको उपज हो । विगतमा यो विमानस्थलले जाडो महिनामा ठूलो समस्या भोगेको तितो सत्य छ । विमानस्थलले भिजिबिलिटीको समस्याका कारण जाडोमा उडानमा प्राविधिक समस्या भोगिरहेको थियो तर विमानस्थलमा आरएनपीएआर प्रणाली जडान भएपछि अव त्यस्तो समस्या दूर भएको छ । यो प्रणाली भैरहवामा दुई बर्षअघि लागू भैसकेकोले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचलोस् भन्नेहरूको दिवा सपना अव पूरा हुन सक्दैन् । एक न एक दिन यो अन्तर्राष्ट्रिय विमानस्थल चल्नेछ ।
यो विमानस्थललाई असफल बनाउने काम कहिँकतैबाट हुनुहुँदैन । अवको दिनमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान निरन्तर गर्न वायुसेवाहरूलाई प्रोत्साहित गर्नेतर्फ नयाँ सरकारको ध्यानाकर्षण होस् । अव कुनैपनि बहानामा अन्तर्राष्ट्रिय उडान रोकिने अवस्था आउनु हुँदैन ।