© 2026
बुटवल ।
लायन्स क्लब अफ बुटवल शुभपाईलाको आयोजनामा रुपन्देहीको तिलोत्तमास्थित बिटिस ग्रामर बोर्डिङ स्कुलमा सञ्चालित दुईदिने आँखा तथा मुख–दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, एरिया ४, रिजन १४, जोन २९ अन्तर्गत आयोजित कार्यक्रम लायन्स इन्टरनेशनलको ग्लोबल सेवा सप्ताहको अवसरमा सञ्चालन गरिएको हो । तिलोत्तमा आई केयर र बुद्धसिटी डेन्टल प्रा.लि.को प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा करिब ३०० जनाले आँखा तथा मुख–दन्त परीक्षण सेवा लिएका छन् ।
विद्यार्थी तथा स्थानीय नागरिकको आँखाको दृष्टि र मुख तथा दाँतको स्वास्थ्य परीक्षण गरी सम्भावित स्वास्थ्य समस्याको समयमै पहिचान, उपचारप्रति सचेतना अभिवृद्धि र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ ।
उक्त कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर सन्दीप कसौधन, युथ एण्ड इन्टरप्रेनरसिप चिफ सबिना श्रेष्ठ, एरिया ४ का एरिया चिफ दीपक गौतम, जोन चियरपर्सन लायन कमला बस्नेत कुँवर तथा चिकित्सक डा। सृजना चापागाई र डा। प्रिज्मा घिमिरेको उपस्थिति रहेको थियो ।
कार्यक्रमले समुदायमा आँखा तथा मुख–दन्त स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सहयोग पुर्याएको आयोजकले जनाएको छ ।
कार्यक्रममा गभर्नर सन्दीप कसौधनले सामाजिक सेवामार्फत समुदायको स्वास्थ्य र जीवनस्तर सुधार गर्ने लायन्स इन्टरनेशनलको ‘वी सर्भ’ अर्थात् ‘हामी सेवा गर्छौँ’ भन्ने मूल भावनालाई कार्यक्रमले थप सशक्त बनाएको बताए ।
कार्यक्रममा क्लब अध्यक्ष सञ्जिवना आचार्य, क्लबका प्रथम उपाध्यक्ष मोना गैरे, संस्थापक अध्यक्ष पुष्पा खरेल र सचिव लायन रीता बोहरा लगायतको सहभागिता रहेको थियो ।