© 2026
काठमाडौँ । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौँमा आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारेको छ। भेलाको तयारी, सहभागिता र व्यवस्थापनका विषयमा छलफल गर्न पार्टीले पहिलो बैठक सम्पन्न गरेको छ। पार्टीका उपमहासचिव लेखराज भट्टको प्रमुख आतिथ्यता तथा सचिव एवं सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकमा सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतसहित उपत्यकाका कमिटी र जनसङ्गठनका नेताहरू सहभागी थिए।
बैठकमा राष्ट्रिय भेलाको तयारी, सहभागीको व्यवस्थापन र कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा छलफल भएको थियो। उपमहासचिव भट्टले पार्टीका नीति, पारित दस्ताबेज तथा वर्तमान राजनीतिक परिस्थितिलाई केन्द्रमा राखेर राष्ट्रिय भेला आयोजना गर्न लागिएको जानकारी दिए। सङ्गठन विभाग प्रमुख ढकालका अनुसार राष्ट्रिय भेला अभिमुखीकरणमूलक हुनेछ। मंसिर २ गते बिहान ११ बजे सुरु हुने भेला भोलिपल्ट साँझसम्म सञ्चालन हुनेछ।
भेलामा पार्टीका केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसङ्गठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित ३ हजार १६४ जना सहभागी हुनेछन्। ढकालका अनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना तथा प्रदेश भूगोलका आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चबाट ५५ जना सहभागी हुनेछन्। त्यसैगरी, ७७ जिल्ला, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लासहित जिल्ला तहबाट ४४० जनाको सहभागिता रहनेछ। पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक जनाका दरले १ हजार ५०६ जना सहभागी हुनेछन्।
भेलामा सङ्घीय संसद् तथा राष्ट्रिय सभासहित ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका निर्वाचित प्रतिनिधिमध्ये मेयर तथा गाउँपालिका अध्यक्ष १९६ जना र उपमेयर तथा गाउँपालिका उपाध्यक्ष ३४२ जना सहभागी हुनेछन्। यसैगरी, विभिन्न जनसङ्गठनबाट ९६ जनाको सहभागिता रहने जनाइएको छ।
एमालेले राष्ट्रिय भेलामार्फत पार्टीका नीति तथा दस्ताबेजबारे अभिमुखीकरण गर्दै वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी गरेको छ।