© 2026
बुटवल ।
दक्षिण एसियामा आधारित स्वतन्त्र समाचार पोर्टल ‘द क्लाइमेट वाच’ले संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ को व्यापक रिपोर्टिङका लागि आठ जना पत्रकार सहभागी हुँदैछन् । टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनमार्फत दक्षिण एसियाका जलवायु चुनौती, प्राथमिकता र मागलाई अन्तर्राष्ट्रिय वार्तामा प्रभावकारी रूपमा प्रस्तुत गर्ने संस्थाको लक्ष्य छ ।
संस्थाका अनुसार रिपोर्टिङ टोलीमा पाँच जना पूर्णकालीन पत्रकार र तीन जना क्षेत्रीय योगदानकर्ता रहनेछन् । बंगलादेश, नेपाल, पाकिस्तान र श्रीलंकाका पत्रकार सहभागी हुने टोलीले जलवायु वित्त, अनुकूलन, जलवायु परिवर्तनबाट हुने क्षति तथा नोक्सानी, ऊर्जा संक्रमण, जैविक विविधता, जलवायुजन्य बसाइँसराइ र जलवायु न्यायका विषयलाई प्राथमिकता दिनेछ ।
बंगलादेशी वातावरण पत्रकार शम्सुद्दिन इलियसले सन् २०२४ मा स्थापना गरेको ‘द क्लाइमेट वाच’ सरकारी प्रेस सूचना विभागमा अनलाइन समाचार पोर्टलका रूपमा दर्ता रहेको छ । संस्थाले दक्षिण एसियामा जलवायु तथा वातावरणसम्बन्धी सीमापार पत्रकारिता र अनुसन्धानात्मक रिपोर्टिङ विस्तार गर्ने प्रयास गरिरहेको छ ।
हिमाली क्षेत्रमा हिमनदी पग्लने र बाढीको जोखिम बढ्नेदेखि तटीय क्षेत्रमा भूक्षय, माटोको लवणीयता र विस्थापनसम्मका समस्यालाई क्षेत्रीय दृष्टिकोणबाट उजागर गर्नु यसको प्रमुख उद्देश्य रहेको छ ।
विश्व जलवायु वार्तामा दक्षिण एसियाको आवाज
‘द क्लाइमेट वाच’का कार्यकारी सम्पादक एमडी इब्राहिम खलिलुल्लाहका अनुसार अन्तर्राष्ट्रिय जलवायु छलफलमा दक्षिण एसियाली पत्रकारको सहभागिता र क्षेत्रीय समुदायका अनुभवलाई प्राथमिकता दिन संस्था प्रतिबद्ध छ ।
“हामी विश्वव्यापी जलवायु वार्तामा दक्षिण एसियाको आवाज बन्न प्रयासरत छौँ । हाम्रा देशहरू जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेका देशमध्ये पर्छन्। हाम्रा कथा अरूले मात्र भनिदिने अवस्थाभन्दा हामीले आफ्ना कथा आफैँ प्रस्तुत गर्नु आवश्यक छ,” उनले भने ।
उनका अनुसार संस्थाले स्थानीय समुदायका समस्या र अन्तर्राष्ट्रिय वार्तामा हुने निर्णयबीच सम्बन्ध स्थापित गर्न स्थानीयस्तरको रिपोर्टिङ, अन्तरदेशीय अनुसन्धान र अन्तर्राष्ट्रिय वार्ताको समाचारलाई एकसाथ अघि बढाइरहेको छ ।
कोप–३१ को रिपोर्टिङलाई सुदृढ बनाउन संस्थाले शक्ति फाउन्डेसन, यङ पावर इन सोसल एक्सन (वाईपीएसए) र चेन्ज इनिसिएटिभसँग सहकार्य गरिरहेको जनाएको छ । संस्थाका अनुसार यसको क्षेत्रीय सञ्जालमा दक्षिण एसियाका करिब १०० जना जलवायु तथा वातावरण पत्रकार आबद्ध छन् । यसले संयुक्त अनुसन्धान, समाचार साझेदारी र व्यावसायिक अनुभव आदानप्रदानमा सहयोग पुर्याउँछ ।
जलवायु सम्मेलनको रिपोर्टिङसँगै ‘द क्लाइमेट वाच’ले वन विनाश, औद्योगिक विस्तार, वातावरणीय सुशासन र सार्वजनिक तथा अन्तर्राष्ट्रिय विकास कोषको उपयोगबारे अनुसन्धानात्मक समाचार प्रकाशित गर्दै आएको छ ।
अनुसन्धानात्मक पत्रकारितामा अन्तर्राष्ट्रिय सम्मान
‘द क्लाइमेट वाच’ एसियामा तीव्र रूपमा विस्तार भइरहेको डिजिटल पूर्वाधारका वातावरणीय तथा सामाजिक लागतबारे गरिएको ‘डार्क साइड अफ द बुम’ नामक अन्तरदेशीय अनुसन्धानमा सहभागी थियो । इन्टरन्युजको अर्थ जर्नालिजम नेटवर्कले समन्वय गरेको उक्त परियोजनामा ११ देशका १४ वटा समाचार संस्थाले सहभागिता जनाएका थिए ।
परियोजनाले डेटा सेन्टर तथा अन्य डिजिटल प्रविधिका कारण बढिरहेको विद्युत् खपत, भूमिगत पानीको दोहन र वातावरणीय दबाबको अध्ययन गरेको थियो । संस्थापक इलियसले बंगलादेशमा विकसित हुँदै गरेको डेटा सेन्टर उद्योगमा केन्द्रित रहेर विद्युत् माग, पानीको प्रयोग र वातावरणीय निगरानीसम्बन्धी विषयमा रिपोर्टिङ गरेका थिए ।
‘द क्लाइमेट वाच’ले दुबईमा आयोजित कोप–२८, बाकुमा आयोजित कोप–२९ र ब्राजिलको बेलेममा आयोजित कोप–३० लगायतका संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनको रिपोर्टिङ गरिसकेको छ । ती सम्मेलनमा जलवायु वित्त, अनुकूलन, क्षति तथा नोक्सानी र विकासशील देशहरूको वार्तास्थितिलाई प्राथमिकता दिइएको थियो ।
सम्मेलनको दैनिक समाचारबाहेक संस्थाले जलवायु वित्त, नवीकरणीय ऊर्जा, दिगोपन र वातावरणीय जवाफदेहिताबारे व्याख्यात्मक सामग्री पनि प्रकाशन गर्छ । यसले जलवायु पत्रकारितासम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्नुका साथै सेन्टर फर पार्टिसिपेटरी रिसर्च एन्ड डेभलपमेन्ट (सीपीआरडी) सँगको सहकार्यमा वार्षिक कोपपूर्व पत्रकारिता फेलोसिप पनि सञ्चालन गर्दै आएको छ ।
कोप–३१ का लागि आठ सदस्यीय टोली परिचालन गर्ने योजना संस्थाको क्षेत्रीय पत्रकारिता विस्तारको अर्को कदम हो । यस अभियानमार्फत दक्षिण एसियाका जलवायु जोखिममा रहेका समुदायका वास्तविक अनुभवलाई अन्तर्राष्ट्रिय वार्ता र नीतिगत निर्णयसँग जोड्ने तथा जलवायु संकटको समाधानमा क्षेत्रीय आवाजलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।