© 2026
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद खगेन्द्र सुनार दाङको कार्यक्रम छाडेर काठमाडौँ फर्किएका छन्। पार्टीको निर्देशनपछि उनी मंगलबार नेपालगन्ज हुँदै काठमाडौँ फर्किएका हुन्। रास्वपा दाङका सभापति किरण खनालका अनुसार सुनार पार्टीको कार्यालयमा आयोजित कार्यक्रममा सहभागी हुन दाङ पुगेका थिए। तर, पार्टीको निर्देशन आएपछि उनी कार्यक्रममा उपस्थित नभई काठमाडौँ फर्किएका हुन्।
खनालले भने, “उहाँको कार्यक्रम पार्टी कार्यालयमा थियो। तर पार्टीको निर्देशन आएपछि कार्यक्रममा उपस्थित नभई काठमाडौँ फर्किनुभयो।” बागमती प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्रीसँग जोडिएको भनिएको अश्लील अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद सुनारलाई सांसदको हैसियतमा सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको थियो। सोही निर्देशनपछि उनी दाङको कार्यक्रम छाडेर काठमाडौँ फर्किएको बताइएको छ।