© 2026
दोहा, कतार । कतारमा रहेका विश्वकर्मा समुदायलाई एकताबद्ध गर्दै उनीहरूको हकहित, पहिचान र सामाजिक सहकार्यका लागि सन् २०१४ मा स्थापित विश्वकर्मा समाज कतारको वार्षिक साधारण सभा २०२६ सम्पन्न भएको छ ।
समाजले मुन्ताजास्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा वार्षिक साधारण सभासँगै विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको हो । सभाको उद्घाटन केक काटेर गरिएको थियो ।
कार्यक्रममा समाजका महासचिव दीपक विश्वकर्माले संस्थाले हालसम्म गरेका सामाजिक गतिविधि तथा प्रगति समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कतारमा रहेका स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले दलित समुदायमाथि हुँदै आएको दमन, उत्पीडन र जातीय विभेदको अन्त्यका लागि सामाजिक चेतना, समानता र व्यवहारमा परिवर्तन आवश्यक रहेकोमा जोड दिएका थिए ।
दलित एकता सञ्जाल कतारका अध्यक्ष प्रकाश विश्वकर्माले दलित समुदायले अझै पनि सामाजिक विभेद भोग्नुपरेको बताए । समाजमा परिवर्तन र समानताका ठूला कुरा गरिए पनि व्यवहारमा विभेद कायमै रहेको उनको भनाइ थियो । संविधान र कानुनले छुवाछूत तथा विभेदलाई निषेध गरे पनि समाजमा आधुनिक स्वरूपमा विभेद जारी रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा साइबर सुरक्षा विज्ञ सुबास गजमिरले साइबर सुरक्षा तथा सचेतनासम्बन्धी प्रशिक्षण दिएका थिए । उनले अनलाइन ठगी, साइबर अपराध, डिजिटल सुरक्षाका उपाय तथा अनलाइन जोखिमबाट बच्ने तरिकाबारे सहभागीहरूलाई जानकारी गराएका थिए ।
वार्षिक साधारण सभाको अवसरमा जातीय विभेदविरुद्ध अन्तरजातीय विवाहमार्फत समानताको सन्देश दिएको भन्दै दुई जोडीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा अनिता बराइली र उनका श्रीमान् समीर खड्का तथा सुमित्रा विक र उनका श्रीमान् देव लामा रहेका छन् । समाजले विभिन्न संस्थामा आबद्ध करिब एक दर्जन व्यक्तिलाई आजीवन सदस्यतासमेत प्रदान गरेको थियो ।
समाजका प्रमुख संरक्षक प्रेमकुमार विकले संस्थाको वर्तमान उपलब्धिमा विगतदेखि योगदान पुर्याउँदै आएका अग्रज तथा वर्तमान नेतृत्वको सामूहिक मेहनत महत्त्वपूर्ण रहेको बताए । संस्थामा कसले नेतृत्व गर्यो वा कसले कुन जिम्मेवारी सम्हाल्यो भन्नेभन्दा पनि सबैको योगदानलाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।
उनले संस्थाको उन्नतिका लागि योगदान गर्ने सबैलाई सम्मान गर्दै संस्थाप्रतिको आफ्नो माया र समर्पण सधैँ कायम रहने बताए । संस्थालाई आवश्यक साथ र सहयोग गर्न आफू सधैँ प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

समाजका अध्यक्ष दीपक विश्वकर्माले कार्यक्रमको समापन गर्दै आफ्नो जातीय पहिचानप्रति गर्व गर्दै अन्य समुदायसँग पनि सहकार्य, सद्भाव र आपसी सम्मान कायम गर्नुपर्ने बताए । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।
समाजका वरिष्ठ उपाध्यक्ष पिताम्बर विश्वकर्माले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण अमर बराइली र हिरालाल विश्वकर्माले गरेका थिए ।