Butwal Today

क्याम्पसको मुहार फेर्ने छात्रावास

२५ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

चन्द्रौटा ।

प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री अर्जुन कुमार केसीले शैक्षिक संस्थाको भौतिक पूर्वाधार विकासले शिक्षाको गुणस्तर सुधार गर्न सहयोग पुग्ने बताएका छन् । जिल्लाको शिवराज नगरपालिका–१ शिवपुरस्थित आइतबार नेपाल आदर्श बहुमुखी क्याम्पसमा छात्रावास भवन निर्माणका लागि शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

छात्रावास भवन निर्माणले विद्यार्थीलाई सहज वातावरणमा अध्ययन गर्न सहयोग पुग्ने विश्वास केसीले व्यक्त गरे । शिक्षाको गुणस्तर सुधार गर्न भौतिक पूर्वाधारसँगै दक्ष शिक्षक, व्यवस्थित शैक्षिक वातावरण र प्रविधिमैत्री शिक्षण पद्धतिमा पनि जोड दिनुपर्ने उनले जोडदिए ।

यसैबीच विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले शैक्षिक संस्थाको विकासमा स्थानीय सरकार, प्रदेश सरकार र समुदायबीच सहकार्य आवश्यक रहेको बताए । निर्माणाधीन भवन समयमै सम्पन्न गरी प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित पक्षलाई उनले आग्रह गरे । यस्तै क्याम्पसका अध्यक्ष बिरेन्द्र सिंह केसीले पूर्व सांसद स्वर्गीय मंगलप्रसाद गुप्ताको पहलमा अघि बढाइएको बताए । योजनाले क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि महत्वपूर्ण उपलब्धी हुने उनले विश्वास व्यक्त गरे । क्याम्पसमा छात्रावास शिलान्यास गरिएको भवन पूर्व सांसद स्वर्गीय मंगल प्रसाद गुप्ताको पहलमा संघीय सरकारबाट ३ करोड रुपैया विनियोजित भई छात्रावास भवन निर्माण हुन लागेको हो ।

भवनको शिलान्यास पूर्व सांसद स्वर्गीय गुप्ताकी श्रीमती स्वतन्त्रता देवी गुप्ता, लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री अर्जुन कुमार केसी र विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले संयुक्त रूपमा गरेका हुन् । वडा नम्बर १ का वडा अध्यक्ष खिम बिक्रम केसी, समाजसेवी, हुमाकान्त खनाल, शरद अधिकारीले कार्यक्रमलाई सम्बोधन गरेका थिए । छात्रावास भवन निर्माणका लागि छत्रेश्वरी निर्माण व्यवसायीले ठेक्का पाएको छ ।

निर्माण व्यवसायी प्रसुन गौतमका अनुसार भवन निर्माणको ठेक्का सम्झौता रकम २ करोड ११ लाख ७६ हजार १४८ रुपैयाँ रहेको छ । निर्माण कार्य आगामी ०८४ असार २० गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ । तीन तले उक्त भवनको भुइँतला, पहिलो तला र दोस्रो तलामा गरी प्रत्येक तलामा भान्सा, भोजन कक्ष तथा शौचालय र स्नानघर जोडिएका तीन ओटा कोठा रहनेछन् । प्रत्येक कोठामा चार ओटा शैय्याको (बेड) रहने व्यवस्था गरिएको क्याम्पसले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?