Butwal Today

बूढीगण्डकीको बाढीले क्षति पुर्‍याएका संरचनाको प्रारम्भिक विवरण सार्वजनिक

२५ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

गोरखा ।

गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले घर, झोलुङ्गे तथा पक्की पुल र जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको छ । बाढीले केही घर बगाएको छ भने कतिपय घरमा पानी पसेको छ । सल्लेरीमा २० देखि २२ वटा घर जोखिममा रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

चुमनुब्री गाउँपालिका–३, न्याकचेतमा न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ । सोही वडाको सिर्दिबासमा रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको र अर्को घरमा बाढी पसेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, धार्चे गाउँपालिका–५, माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ । माछीखोलाको तल्लो बस्तीमा रहेका पाँचदेखि सातवटा घर र पाँचदेखि सातवटा टहरामा बाढी पसेको छ । धार्चे–३, सल्लेरीमा २० देखि २२ वटा घर जोखिममा रहेका छन् ।

बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बगाएको छ । यस्तै, चुमनुब्री गाउँपालिका–३, सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा पावर हाउस र वरपरका सातदेखि आठवटा घर बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

आरुघाट गाउँपालिका–९, नयाँपुलस्थित आरुघाटबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ । तीन भागमा रहेको उक्त पुलमा क्षति पुगेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको मन्त्रालयले जनाएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सेवामा पर्न सक्ने असरलाई ध्यानमा राख्दै मन्त्रालयले सम्भावित जोखिमको आकलन र आपत्कालीन स्वास्थ्य सेवा व्यवस्थापनमा तयारी थालेको छ ।

मन्त्रालयका अनुसार फिलिम, सल्लेरी, जगत र माछाखोलाका स्वास्थ्य संस्थाहरू माथिल्लो उचाइमा रहेकाले तुलनात्मक रूपमा कम जोखिममा छन् । साथै, गोरखा, लमजुङ र तनहुँका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली तथा प्रदेश अस्पतालका आपत्कालीन चिकित्सकीय टोलीलाई तयारी अवस्थामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?