© 2026
बुटवल ।
स्थानीय उत्पादनको बजारीकरण, औद्योगिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमामा चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुने भएको छ । तिलोत्तमा उद्योग वाणिज्य संघले आगामी मंसिर ३ देखि १६ गतेसम्म तिलोत्तमा नगरपालिका–४, मणिग्रामस्थित अस्थायी प्रदर्शनीस्थलमा मेला सञ्चालन गर्न लागेको हो ।
आयोजकका अनुसार मेलामा पाँच लाखभन्दा बढी दर्शक सहभागी हुने र १२ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा औद्योगिक तथा व्यावसायिक उत्पादन, कृषि, प्रविधि र पर्यटन क्षेत्रका सामग्री तथा सेवाको प्रदर्शनी गरिनेछ ।
संघले आइतबार पत्रकार सम्मेलन गरी मेलाको तयारीबारे जानकारी दिएको हो । संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले मेलामा ३५० भन्दा बढी स्टल रहने बताए । होटलका लागि २० वटा स्टल छुट्याइनेछ भने अटोमोबाइल तथा सूचना प्रविधिसम्बन्धी स्टल आवश्यकताअनुसार व्यवस्थापन गरिने उनले जानकारी दिए ।
कार्कीका अनुसार मेलालाई व्यापारिक गतिविधिमा मात्र सीमित नराखी स्थानीय उद्यमीका उत्पादनलाई राष्ट्रिय बजारसम्म पु¥याउने र साना तथा मझौला व्यवसायलाई प्रोत्साहन गर्ने माध्यमका रूपमा विकास गर्न खोजिएको छ । कृषि, उद्योग, व्यापार र पर्यटनलाई एकै स्थानमा जोडेर तिलोत्तमाको आर्थिक पहिचान स्थापित गर्ने लक्ष्य रहेको उनले बताए ।
मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारका सांस्कृतिक प्रस्तुति, बाल उद्यान र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिनेछ । प्रवेशद्वारमा लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथका संरचनाको झल्को दिने सजावट गरिने आयोजकले जनाएको छ ।
त्यस्तै, तिलोत्तमाका पर्यटकीय तथा धार्मिक स्थलको परिचय, जलवायु परिवर्तनसम्बन्धी सचेतना र नैतिक शिक्षासम्बन्धी सामग्री पनि प्रदर्शनीमा राखिनेछ । मेलामार्फत स्वदेशी उत्पादनको बिक्री तथा प्रवद्र्धनका साथै स्थानीय पर्यटनबारे जानकारी विस्तार गर्ने अपेक्षा गरिएको छ ।
मेलाको सामान्य प्रवेश शुल्क १५० रुपैयाँ तोकिएको छ भने विशेष कार्यक्रम तथा कन्सर्टका लागि ४०० देखि ५०० रुपैयाँसम्म शुल्क लाग्नेछ । विद्यार्थीलाई परिचयपत्रका आधारमा टिकटमा ५० प्रतिशत छुट दिइनेछ । ज्येष्ठ नागरिक, पाँच वर्षमुनिका बालबालिका र परिचयपत्रका आधारमा फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । नगरपालिकाको सिफारिसमा आउने २५ जनासम्मको समूहले पनि निःशुल्क प्रवेश पाउनेछ ।
आयोजकले मेलालाई व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गर्न सरकारी निकाय, उद्योगी–व्यवसायी, वित्तीय तथा शैक्षिक संस्था र सर्वसाधारणसँग सहकार्यको अपेक्षा गरेको छ ।