© 2026
दोहा, कतार । प्रवासी नेपाली मञ्च कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा शुक्रबार कतारको हमाद अस्पतालस्थित ब्लड डोनेसन सेन्टरमा आयोजित रक्तदान कार्यक्रममा १५२ जनाले रक्तदान गरेका छन् । कतारमा नेपाली तथा अन्य सामाजिक संघसंस्थाले आयोजना गरेका रक्तदान कार्यक्रममध्ये यसपटक सबैभन्दा बढी रक्तदान भएको आयोजकले जनाएको छ । यसअघि यस्तो कार्यक्रममा १४३ जनाले रक्तदान गरेको रेकर्ड थियो ।
बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा कतारमा रहेका नेपाली समुदायसहित विभिन्न देशका नागरिक गरी झन्डै ५०० जनाको उपस्थिति थियो ।
प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष अफसर अलि खानले वैचारिक भिन्नता भए पनि सामाजिक तथा मानवीय सेवामा नेपाली समुदाय एकजुट हुनुपर्ने बताए । उनले रक्तदानजस्ता कार्यक्रमले सामाजिक एकता र भाइचारा मजबुत बनाउने उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने हमाद अस्पतालका स्वास्थ्यकर्मी तथा सहयोगीलाई धन्यवाद दिए ।
मञ्चका सचिव रघुनाथ शर्माले नेपाली तथा गैरनेपालीको उल्लेख्य सहभागिताले रक्तदान जाति, धर्म र राष्ट्रियताभन्दा माथिको साझा मानवीय अभियान भएको सन्देश दिएको बताए ।
कार्यक्रममा रक्तदान गर्ने दातालाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो । नेपाली रक्तदाता संघ कतारका कार्यवाहक अध्यक्ष सन्तोष पौडेलले रक्तदान गरेसँगै सुरु भएको कार्यक्रम मञ्चका सचिव रघुनाथ शर्माले रक्तदान गरेपछि समापन भएको थियो ।
नेकपा एमालेको प्रवास संगठनका रूपमा सक्रिय प्रवासी नेपाली मञ्च कतारले आयोजना गरेको यस अभियानले कतारमा नेपाली समुदायको सामाजिक योगदान र सकारात्मक पहिचानलाई थप उचाइमा पुर्याउन सहयोग पुग्ने आयोजकले विश्वास व्यक्त गरेको छ ।