© 2026
पाल्पा । मानसिक स्वास्थ्यसम्बन्धी समस्या न्यूनीकरण गर्ने उद्देश्यले पाल्पाको तानसेन नगरपालिका–७ बाँसटारीमा ‘चिया अनि मनका कुरा’ कार्यक्रम आयोजना गरिएको छ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा रोटरी क्लब अफ पाल्पा लुम्बिनीले ‘चियासँग मनका केही कुरा, आउनुहोस् खुला मनले कुरा गरौँ’ भन्ने सन्देशसहित कार्यक्रम आयोजना गरेको हो।
पछिल्लो समय मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएकाले यसबारे खुलेर कुरा गर्ने वातावरण सिर्जना गर्न कार्यक्रम आयोजना गरिएको क्लबकी अध्यक्ष शिखा पहारीले जानकारी दिए। मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको हेरचाह र उनीहरूलाई सामान्य जीवनयापनमा सहयोग गर्नु सबैको दायित्व भएको उहाँको भनाइ छ। उनले दया होइन, माया र स्नेहमा आधारित सामाजिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागीले चियासँगै आफ्ना मनका कुरा साटासाट गरेका थिए। मानसिक स्वास्थ्यसम्बन्धी समस्या र त्यसका लक्षण अनुभव गरेका ७० जनाभन्दा बढी सेवाग्राहीले चिकित्सकसँग प्रत्यक्ष भेटघाट तथा परामर्श सेवा लिएका थिए। उनीहरूलाई चिकित्सक एवं प्राध्यापक आलोक आत्रेय, डाक्टर समता नेपाल, डाक्टर विष्णु आचार्य र डाक्टर हिमाल घिमिरेले परामर्श दिएका थियो।
कार्यक्रममा सहभागीले चित्रकला, संगीत र गायनमार्फत आफ्ना कला, सीप तथा प्रतिभासमेत प्रस्तुत गरेका थिए। चिसो मौसममा तातो चियासँगै मनका कुरा साटासाट गर्ने अवसरले मानसिक स्वास्थ्यबारे खुलेर बोल्न सहज बनाएको आयोजकले जनाएको छ। कार्यक्रममा रोटरी क्लबका निवर्तमान अध्यक्ष लक्ष्मण कोइराला, क्लबका पूर्वअध्यक्षहरू रमेश न्यौपाने, प्रदीप खनाल, स्वास्थ्य कार्यालय पाल्पाकी पब्लिक हेल्थ नर्स शान्ति भण्डारी, क्बलका कोषाध्यक्ष दिपक जिसी, लगायतको सहभागिता थियो।
रोट्र्याक्ट क्लब अफ लुम्बिनी र लियो क्लब अफ लुम्बिनीको सहकार्यमा आयोजित कार्यक्रममा करिब एक सय कप चिया वितरण गरिएको थियो। क्लबकी अध्यक्ष शिखा पहारीको अध्यक्षतामा भएको कार्यक्रम सचिव हरि अर्यालले सञ्चालन गर्नुभएको थियो भने क्लबका बोर्ड सदस्य गोविन्द गौतम उपाध्यायले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा रोटरी क्लबका सदस्यहरुको समेत उल्लेख्य सहभागिता थियो ।