Butwal Today

रुपन्देही प्रहरीको चाडपर्व सुरक्षा योजना : १ हजार २१५ प्रहरी परिचालन गरिने

सीमा नाकादेखि धार्मिक स्थलसम्म निगरानी, यात्रु ठगीदेखि जुवातास र तस्करी नियन्त्रणसम्म प्रहरीको विशेष रणनीति
२३ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

भैरहवा ।

नेपालीहरूको महान् पर्व विजयादशमी, तिहार तथा छठलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्व लक्षित सुरक्षा योजना–२०८३ सार्वजनिक गरेको छ । चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, यात्रु ठगी, सवारी दुर्घटना, जुवातास, कालोबजारी, लागूऔषध ओसारपसार तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्दै जिल्लामा शान्ति सुरक्षा कायम राख्न प्रहरीले विशेष सुरक्षा रणनीति अघि सारेको हो ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको सुरक्षा योजनाअन्तर्गत जिल्लाभर कुल १ हजार २१५ जना प्रहरी जनशक्ति परिचालन गर्ने तयारी गरिएको छ । कमान्ड पोस्ट, मोबाइल तथा पैदल गस्ती, मोटरसाइकल गस्ती, पिकेट, सादा पोशाकका प्रहरी, द्रुत प्रतिकार्य टोली (क्युआरटी), ट्राफिकसहितको संयुक्त चेकिङ र यात्रु सहायता कक्षमार्फत सुरक्षा व्यवस्था प्रभावकारी बनाइने प्रहरीले जनाएको छ ।

चाडपर्वका बेला बजार, सार्वजनिक यातायात, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, सीमा नाका, धार्मिक स्थल र पर्यटकीय क्षेत्रमा सर्वसाधारणको चहलपहल बढ्ने भएकाले सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा योजना तयार पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए । भारतसँग खुला सीमा जोडिएको रुपन्देहीमा सीमापार आवतजावत र व्यापारिक गतिविधि बढ्ने समयलाई लक्षित गरी सीमा क्षेत्रमा समेत निगरानी कडा बनाइनेछ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हाल कार्यरत १ हजार १६५ जना प्रहरी जनशक्तिबाट आवश्यक सुरक्षा व्यवस्थापन गर्ने तयारी छ ।

योजनाअनुसार अपुग हुने थप ५० जना प्रहरी माथिल्लो निकायसँग माग गरिनेछ । जनशक्ति परिचालनलाई व्यवस्थित बनाउन २९८ वटा ड्युटी तथा परिचालन व्यवस्था प्रस्ताव गरिएको चन्दले बताए ।

१ हजार २१५ प्रहरी, २९८ ड्युटी परिचालन व्यवस्था

प्रहरीले चाडपर्व अवधिभर जिल्लाका विभिन्न स्थानमा फरक–फरक प्रकृतिका सुरक्षा टोली परिचालन गर्ने योजना बनाएको छ । जिल्ला प्रहरी कार्यालयमा कमान्ड पोस्ट स्थापना गरी सुरक्षा गतिविधिको समन्वय र अनुगमन गरिनेछ । यसका लागि सात जना प्रहरी खटाउने योजना छ ।

त्यसैगरी प्रहरी परिचालन तथा अनुगमनका लागि १४ जना, जिल्ला रिजर्भमा ४४ जना, चारपाङ्ग्रे सवारीसहितको क्युआरटी परिचालनमा ७२ जना र चारपाङ्ग्रे मोबाइल गस्तीमा ११८ जना प्रहरी खटाइनेछ । मोटरसाइकल गस्तीमा ९२ जना र पैदल गस्तीमा ११९ जना प्रहरी परिचालन गर्ने योजना छ ।

जिल्लाका विभिन्न संवेदनशील स्थानमा १७२ जना प्रहरी पिकेटमा खटिनेछन् भने ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङका लागि ८५ जना परिचालन गरिनेछ । सादा पोशाकमा २३ जना प्रहरी परिचालन गरी शंकास्पद गतिविधि, चोरी तथा आर्थिक अपराधमा संलग्न हुन सक्ने व्यक्तिहरूमाथि निगरानी राखिने प्रहरीको भनाइ छ ।

यात्रुहरुको गुनासो सुन्न तथा सार्वजनिक यातायातमा हुने ठगी नियन्त्रण गर्न नौ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने योजना छ । ती कक्षमा ३६ जना प्रहरी खटाइनेछ । धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि १५२ जना, लोकमार्गमा हतियारसहित क्रस पेट्रोलिङका लागि ५० जना, बजार अनुगमनमा १० जना र कार्यालय सुरक्षामा २२१ जना प्रहरी परिचालन गर्ने सूचना अधिकारी चन्दले बताए ।

सीमा नाकामा कडा निगरानी, पटाका र विस्फोटक पदार्थ नियन्त्रण

चाडपर्वका बेला अवैध रुपमा पटाका, आतिशबाजी तथा विस्फोटक पदार्थ भित्र्याउने र ओसारपसार गर्ने गतिविधि रोक्न प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाउने भएको छ । भगवानपुर, मउडिहवा, सुमडी, बेलहिया र कालीदहलगायत १७ वटा सीमा नाकामा चेकजाँचलाई कडा बनाइने सुरक्षा योजनामा उल्लेख छ ।

पटाका तथा आतिशबाजीको बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध कार्यान्वयन गराउन सीमावर्ती बजार, व्यापारिक क्षेत्र तथा शंकास्पद स्थानमा निगरानी गरिनेछ । अवैध रूपमा सामान भित्र्याउने, तस्करी गर्ने तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।

विशेषगरी तिहारका बेला पटाका तथा विस्फोटक पदार्थको प्रयोगबाट आगलागी, चोटपटक र अन्य दुर्घटना हुन सक्ने भएकाले त्यस्ता सामग्रीको ओसारपसार तथा बिक्रीवितरण नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको छ ।

धार्मिक सद्भाव कायम राख्न समुदायसँग समन्वय

बहुधार्मिक तथा बहुसांस्कृतिक समुदायको बसोबास रहेको रुपन्देहीमा चाडपर्वका बेला सामाजिक सद्भाव कायम राख्न प्रहरीले समुदायस्तरमा समन्वय गर्ने भएको छ । डण्डा खोला, रोहिणी खोला, कुरुवा घाट, पैसिया घाट तथा लुम्बिनी क्षेत्रका मिश्रित बस्तीमा सम्भावित धार्मिक तथा साम्प्रदायिक विवाद रोक्न धर्मगुरु, जनप्रतिनिधि र स्थानीय समुदायसँग नियमित छलफल गरिनेछ ।

दशैं तथा अन्य पर्वका अवसरमा हुने धार्मिक गतिविधि, मूर्ति स्थापना र विसर्जनलाई व्यवस्थित गर्न आवश्यक समन्वय गरिने प्रहरीले जनाएको छ । मूर्ति विसर्जनका लागि रुट निर्धारण गर्ने तथा स्थापना र विसर्जनस्थल आसपास मादक पदार्थको बिक्रीवितरण रोक्ने योजना पनि अघि सारिएको छ ।

धार्मिक आस्थासँग जोडिएका गतिविधिमा सामान्य विवादले समेत ठूलो रूप लिन सक्ने भएकाले संवेदनशील स्थानमा प्रहरीको उपस्थिति बढाउने र सम्भावित विवादबारे समयमै सूचना संकलन गर्ने रणनीति लिइएको छ । प्रहरीले सबै समुदायलाई एकअर्काको धार्मिक आस्था र संस्कृतिको सम्मान गर्दै चाडपर्व मनाउन आग्रह गरेको छ ।

चोरी, लुटपाट र आर्थिक अपराध नियन्त्रणमा विशेष निगरानी

चाडपर्वका बेला धेरै मानिस घर छाडेर गाउँ जाने, बजारमा किनमेल बढ्ने र वित्तीय कारोबारको चाप बढ्ने भएकाले चोरी, लुटपाट, पाकेटमारी तथा ठगीका घटना हुन सक्ने जोखिमलाई प्रहरीले ध्यानमा राखेको छ ।

सुरक्षा योजनाअनुसार आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूमाथि निगरानी राखिनेछ । बजार, भीडभाड हुने क्षेत्र, सार्वजनिक यातायात, बैंक तथा वित्तीय संस्था र सुनचाँदी पसल आसपास प्रहरी परिचालन बढाइनेछ । राजमार्गका जङ्गल क्षेत्र तथा अन्य जोखिमयुक्त स्थानमा विशेष मोबाइल गस्ती सञ्चालन गरिने डिएसपी चन्दले बताए ।

सादा पोशाकमा प्रहरी परिचालन गरेर शंकास्पद गतिविधि पहिचान गर्ने र सम्भावित अपराध रोकथाम गर्ने योजना बनाइएको छ । चोरी वा लुटपाटका घटना हुन नदिन सर्वसाधारणलाई पनि सचेत रहन प्रहरीले अनुरोध गरेको छ ।

घर छाडेर बाहिर जाँदा बत्तीको उचित व्यवस्था गर्न, छिमेकीलाई जानकारी दिन र सम्भव भएसम्म सीसीटीभी जडान गर्न प्रहरीले आग्रह गरेको छ । घरमा लामो समयसम्म कोही नबस्ने अवस्था भएमा सुरक्षा सतर्कता अपनाउन तथा अपरिचित व्यक्तिको गतिविधिप्रति ध्यान दिनसमेत प्रहरीले सुझाव दिएको छ ।

यात्रु ठगी रोक्न नौ स्थानमा सहायता कक्ष

दशैं, तिहार तथा छठका बेला रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि घरबाहिर रहेका नागरिक आफ्नो गन्तव्यतर्फ फर्कने भएकाले सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने गर्छ । यही समयमा बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, यात्रुलाई अनावश्यक दुःख दिने र टिकटमा ठगी गर्ने समस्या देखिन सक्ने भएकाले प्रहरीले यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ ।

बुटवल बसपार्क, भैरहवा बसपार्क, बेलहिया नाका, गोलपार्क र पर्साचोकलगायत नौ मुख्य स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ । यात्रुका गुनासा सुन्न, समस्यामा परेकालाई सहयोग गर्न र सार्वजनिक यातायातमा हुने अनियमितता नियन्त्रण गर्न ती कक्ष उपयोग गरिने प्रहरीले जनाएको छ ।

तोकिएको भन्दा बढी भाडा लिने, क्षमताभन्दा बढी यात्रु राख्ने र यात्रुलाई ठगी वा हैरानी दिने सवारीसाधनमाथि तत्काल कारबाही गर्ने योजना छ । यात्रुले भोगेका समस्या तत्काल सम्बोधन गर्न प्रहरी र ट्राफिक प्रहरीबीच समन्वय गरिनेछ ।

राजमार्गमा मापसे र तीव्र गतिविरुद्ध चेकिङ

चाडपर्वका बेला सवारीसाधनको आवागमन बढ्ने र लामो दूरीको यात्रा गर्ने यात्रुको संख्या बढ्ने भएकाले सडक दुर्घटना न्यूनीकरणलाई पनि सुरक्षा योजनामा प्राथमिकता दिइएको छ ।

पूर्व–पश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, हुलाकी राजमार्ग तथा लुम्बिनी–रामग्राम सडक खण्डमा विशेष चेकिङ गरिनेछ । मादक पदार्थ सेवन गरी सवारी चलाउने, लागूऔषध सेवन गरी सवारी चलाउने तथा तीव्र गतिमा सवारीसाधन चलाउनेमाथि निगरानी बढाइने प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीसँगको संयुक्त टोलीले सवारीसाधनको जाँच गर्ने, चालकको अवस्था परीक्षण गर्ने तथा नियम उल्लङ्घन गर्नेमाथि कानुनी कारबाही गर्नेछ । लामो दूरीका सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राखिएको छ वा छैन भन्ने विषयमा समेत निगरानी गरिनेछ ।

प्रहरीले चालकलाई मादक पदार्थ सेवन नगरी सवारी चलाउन, तीव्र गति नियन्त्रण गर्न, ट्राफिक नियम पालना गर्न र यात्रुको सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ । यात्रुलाई पनि सवारीसाधनको अवस्था, चालकको व्यवहार तथा क्षमताभन्दा बढी यात्रु राखिएको अवस्थाबारे सचेत रहन अनुरोध गरिएको छ ।

छठघाट र पर्यटकीय क्षेत्रमा सुरक्षा व्यवस्था

छठ पर्वका अवसरमा नदी, खोला, ताल तथा जलाशय आसपास श्रद्धालुको ठूलो भीड लाग्ने भएकाले सम्भावित दुर्घटना रोक्न प्रहरीले विशेष सतर्कता अपनाउने भएको छ । छठघाटमा हुने भीडभाड, पानीमा डुब्ने जोखिम तथा अन्य आकस्मिक घटनालाई ध्यानमा राखेर स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरिनेछ ।

धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि १५२ जना प्रहरी परिचालन गर्ने योजना छ । भीड व्यवस्थापन, सम्भावित विवाद नियन्त्रण, आवागमन सहज बनाउने तथा आकस्मिक अवस्थामा तत्काल उद्धार र सहयोग उपलब्ध गराउने विषयलाई प्राथमिकता दिइनेछ ।

लुम्बिनी क्षेत्रलगायत जिल्लाका प्रमुख धार्मिक स्थलमा चाडपर्वका बेला दर्शनार्थी तथा पर्यटकको आवागमन बढ्न सक्ने भएकाले आवश्यकताअनुसार प्रहरी परिचालन र निगरानी गरिनेछ । स्थानीय आयोजक तथा व्यवस्थापन समितिसँग समन्वय गरेर भीड व्यवस्थापनलाई व्यवस्थित बनाइने प्रहरीले जनाएको छ ।

कालोबजारी, अवैध मदिरा र जुवातासमाथि कारबाही

चाडपर्वमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने तथा कालोबजारी गर्ने गतिविधि नियन्त्रण गर्न संयुक्त बजार अनुगमन गरिनेछ ।

जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय र उद्योग वाणिज्य सङ्घसहित सम्बन्धित निकायको सहभागितामा बजार अनुगमन गरिने सुरक्षा योजनामा उल्लेख छ । उपभोक्तालाई ठगी गर्ने, अनुचित मूल्य असुल्ने र प्रचलित कानुनविपरीत व्यापार गर्ने व्यवसायीमाथि आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय गरिनेछ ।

त्यसैगरी जुवातास, सट्टेबाजी तथा अवैध मदिरा बिक्रीवितरण नियन्त्रणमा पनि प्रहरीले विशेष निगरानी राख्नेछ । जुवातास वा सट्टेबाजी हुने सम्भावित स्थानको सूचना संकलन गरी प्रहरी टोली परिचालन गरिनेछ । गैरकानुनी गतिविधिमा संलग्न पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।

आकस्मिक घटनाको अनुसन्धानका लागि विशेष टोली तयारी अवस्थामा

चाडपर्वका बेला हुन सक्ने हुलदङ्गा, गम्भीर आपराधिक घटना तथा अन्य आकस्मिक परिस्थितिको सामना गर्न प्रहरीले विशेष अनुसन्धान टोलीलाई तयारी अवस्थामा राख्ने भएको छ ।

घटनास्थलबाट प्रमाण संकलन र अनुसन्धानका लागि अपराधस्थल अनुसन्धान अधिकृत सहितको टोली आवश्यक सामग्रीसहित तयारी अवस्थामा राखिनेछ । कुनै गम्भीर घटना भएमा घटनास्थलको निरीक्षण, प्रमाण संकलन तथा अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

सुरक्षा योजना कार्यान्वयनका क्रममा प्रहरीका विभिन्न इकाइबीच समन्वय कायम राखिनेछ । आवश्यकताअनुसार मोबाइल गस्ती, क्युआरटी र जिल्ला रिजर्भ परिचालन गरी घटनास्थलमा छिटो पुग्ने व्यवस्था मिलाइनेछ ।

नागरिकलाई प्रहरीको आग्रह

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्वलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित रूपमा मनाउन आम नागरिकलाई आग्रह गरेको छ । चाडपर्वका समयमा कुनै शंकास्पद गतिविधि देखिएमा, चोरी वा ठगीको जोखिम भएमा अथवा सुरक्षा समस्या उत्पन्न भएमा नजिकैको प्रहरी कार्यालय वा प्रहरीको हटलाइनमा तत्काल जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।

प्रहरीले चाडपर्वको सुरक्षा प्रहरीको मात्र जिम्मेवारी नभई नागरिक, स्थानीय तह, व्यवसायी, यातायात व्यवसायी, धार्मिक अगुवा र विभिन्न सामाजिक संघसंस्थाको सहकार्यबाट प्रभावकारी बनाउन सकिने जनाएको छ ।

चाडपर्वका बेला जिल्लाभित्र र बाहिरबाट हुने आवागमन, बजारको चहलपहल र धार्मिक गतिविधिलाई ध्यानमा राखेर तयार पारिएको सुरक्षा योजना सफल बनाउन नागरिकको सहयोग आवश्यक हुने प्रहरीको भनाइ छ । प्रहरीले सम्भावित अपराधको रोकथाम, सामाजिक सद्भावको संरक्षण र सर्वसाधारणको आवागमनलाई सुरक्षित बनाउने उद्देश्यसहित सुरक्षा व्यवस्था मिलाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?