© 2026
लमही ।
लमही सिटी क्लबको आयोजनामा घर संसार फुटसल कप २०८३ शुक्रबारदेखि लमहीमा सुरु भएको छ । प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेले उद्घाटन गरेका हुन ।
खेलको उद्घाटन गर्दै मन्त्री घिमिरेले खेलकुदका माध्यमबाट नेपाललाई विश्वभर चिनाउन सकिने बताए । उनले युवालाई खेलकुदमार्फत अनुशासित, स्वस्थ र जिम्मेवार बनाउन सकिने भएकाले सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेको स्पष्ट पारे । खेलकुदले युवाको क्षमता विकास गर्नुका साथै देशको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । स्थानीयस्तरमा हुने यस्ता प्रतियोगिताले खेलाडीको प्रतिभा उजागर गर्दै उनीहरूलाई थप अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
असोज २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्देश्य स्थानीय तथा बाह्य क्षेत्रका खेलाडीलाई एउटै मैदानमा प्रतिस्पर्धा गराउँदै फुटसल खेलको विकास र विस्तार गर्नु रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टिमले ५० हजार रुपैयाँ पाउनेछ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।