Butwal Today

कुची र रङले कोर्दै आत्मनिर्भरताको बाटो

२३ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

रोल्पा । दुर्गम पहाडी जिल्ला रोल्पाको थबाङमा जन्मिएकी भिमराशी गुरुङका लागि जीवन आफैँमा संघर्षको लामो यात्रा हो । अभाव र कठिन परिस्थितिका बीच शिक्षा हासिल गरेकी उहाँ अहिले आफ्नै सीप र श्रमबाट आत्मनिर्भर जीवन बिताइरहनुभएको छ । कुची, रङ र अक्षर नै उहाँको जीविकोपार्जनको आधार बनेका छन् ।

विगत ११ वर्षदेखि आर्ट तथा पेन्टिङलाई मुख्य पेसा बनाउँदै आउनुभएकी गुरुङले सुनिल स्मृति गाउँपालिका–रुइनिबाङ बजारमा पाँच वर्षदेखि आफ्नै ‘गेन्मी आर्ट’ सञ्चालन गर्दै आएकी छन् । जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, क्लब, संस्था तथा व्यावसायिक प्रतिष्ठानका भवन, गेट र नामप्लेटमा लेखन तथा चित्र बनाउने काम उनले गर्दै आएकी छन् ।

पसलमा बसेर मात्र काम गर्नुपर्दैन । मागअनुसार दुर्गम गाउँसम्म पुगेर भित्तेचित्र, हस्तलेखन, नामप्लेट तथा अन्य कलासम्बन्धी काम गर्नुपर्छ । सडकको सहज पहुँच नभएका ठाउँमा सामग्री बोकेर पैदल हिँड्दै पुग्नुपर्ने र कहिलेकाहीँ अप्ठ्यारो ठाउँमा चढेरसमेत काम गर्नुपर्ने उनी बताउँछिन् ।

“काम सजिलो त कहाँ हुन्छ र, मेहनत धेरै गर्नुपर्छ । कहिलेकाहीँ फिल्डमै गएर आर्ट गर्नुपर्दा अप्ठ्यारो ठाउँमा चढेर लेख्नुपर्छ । तर सीप सिकेपछि काम गर्न सकिन्छ,” उनले भनिन् ।
रोल्पाका १० वटै स्थानीय तहका विभिन्न विद्यालय, क्लब तथा संस्थामा पुगेर हस्तलेखन, पेन्टिङ र अन्य आर्टसम्बन्धी काम गरिसकेकी गुरुङका लागि दुर्गम भूगोल र कठिन यात्रा पेशाको बाधक बनेका छैनन् । नयाँ ठाउँमा पुगेर आफ्नै हातले बनाएको चित्र र लेखाइ देख्दा आफूलाई छुट्टै सन्तुष्टि मिल्ने उनी बताउँछिन् ।

“विद्यालय तथा विभिन्न भवनमा आफ्नै हातले बनाएका चित्र र लेखाइ देख्न पाउँदा मनमा खुसी लाग्छ । आफूले गरेको काम धेरै वर्षसम्म देख्न पाउनु पनि सन्तुष्टिको कुरा हो,” उनले भनिन् ।
भिमराशीको यो यात्रा भने आर्ट व्यवसायबाट सुरु भएको होइन । शिक्षा विषयमा स्नातक तहसम्म अध्ययन गरेपछि उनले केही समय शिक्षणसमेत गरिन् । तर जागिरमा मात्र सीमित हुनुभन्दा आफ्नै रुचि र सीपबाट व्यवसाय गर्ने सोच विकसित भएपछि उनी आर्टतर्फ आकर्षित भइन् ।

आर्टसम्बन्धी सीप उनले आफ्नै भिनाजु गञ्जबहादुर पुनबाट सिकेकी हुन् । सदरमुकाम लिवाङस्थित भिनाजुको पसलमा आउजाउ गर्ने क्रममा आर्टसम्बन्धी काममा रुचि बढेपछि पुनले उनलाई सीप सिकाउन थालेका थिए । करिब तीन महिनामै आधारभूत काम सिकेपछि निरन्तर अभ्यास गर्दै उनले यसैलाई आफ्नो पेसा बनाइन् ।

“लिवाङमा रहेको भिनाजुको पसलमा बेलाबेलामा जाँदा मलाई यो सीपप्रति चासो जाग्यो । भिनाजुले सहज रूपमा यो काम सिकाउनुभयो । उहाँबाट सिकेको सीपलाई निरन्तर अभ्यास गर्दै गएँ,” उनले भनिन् ।
सीप सिक्न इच्छाशक्ति, मेहनत र निरन्तर अभ्यास आवश्यक हुने उनको अनुभव छ । सीपलाई महिला र पुरुषको कामका रूपमा विभाजन गर्न नहुने उनी बताउँछिन् ।
“धेरैले केटा मान्छेले गर्ने काम केटी मान्छेले पनि गर्न सकिँदो रहेछ भन्नुहुन्छ । सीप भनेको सिकेर सम्भव हुने कुरा हो । कुनै पनि काम असम्भव हुँदैन,” उनले भनिन् ।

भिमराशीको संघर्ष व्यवसायमा मात्र सीमित छैन । सात दिदीबहिनी र एक दाजुभाइ गरी आठ सन्तानमध्येकी उनले आर्थिक अभावका कारण परिवारका सबै सन्तानले समान रूपमा शिक्षा लिन नसकेको बताउँछिन् । चार दिदीले औपचारिक विद्यालय शिक्षा लिनसमेत नपाएको उहाँको भनाइ छ । उनीसहित दाजु र दुई बहिनीले मात्र विद्यालय शिक्षा हासिल गरे ।
गाउँमै प्लस टुसम्म अध्ययन गरेपछि उनले रुकुमको सिस्ने क्याम्पसबाट स्नातक तह पूरा गरिन् । पारिवारिक अभावका बीच अध्ययनलाई निरन्तरता दिन सहज थिएन । तर शिक्षाप्रतिको इच्छाशक्तिले कठिनाइ पार गर्न सहयोग गरेको उनी बताउँछिन् ।
अध्ययनपछि धेरै साथी सरकारी सेवामा प्रवेश गरे पनि उनले स्वतन्त्र पेसा रोजिन् । उनका अनुसार पढेपछि अनिवार्य रूपमा जागिर खानुपर्छ भन्ने सोच परिवर्तन हुन आवश्यक छ ।

“मसँग पढेका प्रायः साथीहरू सरकारी जागिरमा लाग्नुभएको छ । मैले व्यवसाय गरेर बसेँ । पढेर जागिर नै खानुपर्छ भन्ने छैन । मान्छेलाई आवश्यक पर्ने कुरा आम्दानी र आत्मनिर्भरता पनि हो,” उनले भनिन् ।

उनको आर्ट पसलमा पेन्टिङ, हस्तलेखन, छपाइ, जर्सी प्रिन्ट, विभिन्न आकृति तथा चित्र निर्माणलगायतका काम हुन्छन् । विद्यालय, कार्यालय, क्लब तथा संस्थाका नामप्लेट, बोर्ड, गेट लेखन र सजावटका काम पनि उनले गर्दै आएकी छन् ।
व्यवसायबाट हुने आम्दानी भने सधैँ समान हुँदैन । काम धेरै आउने समय बढी आम्दानी हुने र काम कम हुँदा आम्दानी पनि घट्ने भए पनि आफ्ना आवश्यकता पूरा गर्न यही व्यवसायले सहयोग गरेको उनी बताउँछिन् । व्यवसायबाट परिवारलाई सहयोग गर्नुका साथै घरघडेरी जोड्ने सपना पनि पूरा गरेको उनको भनाइ छ ।

रोजगारीको खोजीमा युवाहरू विदेशिने क्रम बढिरहेका बेला स्वदेशमै उपलब्ध सीपलाई व्यवसायमा रूपान्तरण गर्न सके जीवन धान्न सकिने उनको अनुभव छ ।
“आत्मनिर्भर बन्नका लागि केही न केही सीप सिक्नुपर्छ । यहीँ बसेर आफ्नो गुजारा चलाउन सकिन्छ । पैसा धेरै नहोला, तर आफ्नो आवश्यकता पूरा गर्न सकिन्छ,” उनले भनिन् ।

३८ वर्ष पुगेकी गुरुङले अहिलेसम्म विवाह गरेकी छैनन् । आफ्नो अधिकांश समय काममै बित्ने भएकाले अहिले उनको प्राथमिकता पेसा, सीप र आत्मनिर्भरता बनेको छ । बिहानैदेखि आर्टसम्बन्धी काममा लाग्ने र आवश्यकताअनुसार जिल्लाका विभिन्न स्थानमा पुगेर काम गर्ने उनको दिनचर्या बनेको छ ।

महिलालाई पनि अवसर र सीप दिए जुनसुकै क्षेत्रमा अघि बढ्न सकिने उनको विश्वास छ । आफूले सिकेको सीप अरूलाई पनि सिकाउँदै आउनुभएकी उनी महिलाहरूलाई उद्यमशील बन्न आग्रह गर्छिन् ।
“जुनसुकै काम गरेपछि सम्भव हुन्छ । असम्भव भन्ने केही हुँदैन । मजस्तै महिलाहरूले पनि केही न केही उद्यम गर्नुपर्छ भन्ने मलाई लाग्छ,” उनले भनिन् ।

थबाङको दुर्गम गाउँबाट सुरु भएको भिमराशीको यात्रा अहिले रुइनिबाङ बजारको आर्ट पसलसम्म आइपुगेको छ । कुची, रङ, अक्षर र सिर्जनालाई जीवनको आधार बनाउँदै ११ वर्षदेखि निरन्तर अघि बढिरहेकी उनको यात्राले सीप, श्रम र आत्मविश्वास भए आफ्नै ठाउँमा बसेर पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?