Butwal Today

तराई-पहाड जोड्ने पाँच पुल बनेपछि…

२३ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-
चन्द्राैटा  ।
तराई-पहाड जाेडने त्याे यात्रा सहज थिएन । लामाे समयकाे संघर्षपछि वर्षायाममा खोला तर्न जोखिम मोल्नुपर्ने बाध्यता पछिल्लो समय यता हट्दै गएको छ । कपिलवस्तु र अर्घाखाँची क्षेत्रलाई जोड्ने ५ वटा पक्की पुल निर्माण कार्य सकिएपछि शितगंगा नगर बासीहरुकाे आवागमन सहज बनेको छ ।
विभिन्न तहका सरकारकाे लगानीमा शितगंगा नगरपालिका-९, ११, १३ र १४ का बस्तीलाई कपिलवस्तुको तराई क्षेत्रसँग जोडेको छ । लुम्बिनी प्रदेश र सङ्घीय सरकारको लगानीमा पुल बनेपछि शिक्षा, स्वास्थ्य, व्यापार तथा रोजगारीका लागि आवतजावत गर्न सहज भएको शितगंगा नगरपालिका-११ का वडाध्यक्ष नवराज भुसालले बताए ।
बुद्धभूमि नगरपालिका-३ मसुरे, वडा नम्बर-१ पत्थरकोट, रणसिंह खोला, मुसीयान र पावरामा निर्माण भएका पुलले स्थानीयको यात्रा सहज बनाउनुका साथै कृषि उत्पादनको बजारीकरण र आर्थिक गतिविधि विस्तारको सम्भावना बढाएका छन् । शितगंगा नगरपालिका-१३ का वडाध्यक्ष दुर्गा बिसीका अनुसार यी पुलले दुई जिल्लाबीचको सम्बन्ध बलियो बनाउँदै पहाडी बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्न महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।
पुल निर्माणसँगै वर्षायाममा खोलामा पानीको बहाव बढ्दा जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था अन्त्य भएको स्थानीय बताउँछन् । यी पुल बनेपछि शितगंगा नगरपालिकाको सिमलपानी क्षेत्रका बासिन्दालाई कपिलवस्तुतर्फ आवतजावत गर्न सहज भएको लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?