Butwal Today

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि मतदान सम्पन्न, ७ हजार ४९ मत खस्यो

२३ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटवालका अनुसार कुल ७ हजार ३१७ मतदाता रहेकामा ७ हजार ४९ मत खसेको छ। मतदान सम्पन्न भएसँगै मतपेटिका सिलबन्दी गर्ने प्रक्रिया अघि बढाइएको छ। निर्वाचन समितिका अनुसार मतपेटिका सिलबन्दी गर्न एक घण्टाभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ।

मतदानका लागि राष्ट्रिय सभागृहमा बागमती प्रदेशका मतदाताको व्यवस्था गरिएको थियो भने खुलामञ्चमा अन्य ६ प्रदेशका मतदाताले मतदान गरेका थिए। सिलबन्दी प्रक्रिया पूरा भएपछि खुलामञ्चमा रहेका मतपेटिका राष्ट्रिय सभागृहमा ल्याइनेछ। निर्वाचन समितिका अनुसार आवश्यक मुचुल्का तयार गरी सभापतिका उम्मेदवारबीच सहमति भएपछि सभापति पदको मतगणना सुरु गरिनेछ। बाँकी मतपेटिका भने पार्टीको केन्द्रीय कार्यालय सानेपामा लगिनेछ।

नेपाली कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। त्यसमध्ये सभापतिले ६६ सदस्य मनोनीत गर्ने व्यवस्था छ। वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, महिला उपसभापति पुष्पा भुसाल र केन्द्रीय सदस्य डा। स्मिता प्रधान निर्विरोध निर्वाचित भइसकेका छन्। आज २२८ पदाधिकारी तथा केन्द्रीय सदस्य चयनका लागि मतदान भएको हो। अब मतगणनाबाट पार्टीको नयाँ नेतृत्व र केन्द्रीय कार्यसमितिको संरचना तय हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?