Butwal Today

सक्रिय र स्वस्थ बुढौली आजको आवश्यकता

२२ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

मानव बिकासका बिभिन्न चरणहरू पार गर्दै मानिस बुढौलीमा प्रबेश गर्दछ । यसलाई चाहेर पनि मानिसले रोक्न सक्दैन, सबैलाई थाहा भएकै कुरा हो । यसलाई सबैले स्वइकार्नु पर्छ । नेपालको सन्दर्भमा ६० वर्ष र सो भन्दा माथिको जनसङ्ख्यालाई वृद्ध जनसङ्ख्या (ज्येष्ठ नागरिक) को रूपमा लिइन्छ । स्वास्थ्य प्रतिको चेतना, गुणस्तररिय जीवनयापन, पोषणयुक्त खाना, स्वास्थ्य सेवामा पहुँच आदि कारण बुढौली नागरिकको संख्या बढ्दोक्रममा छ ।

विश्वका बिकसित देशहरूको बराबरमा नेपालमा सेवा सुबिधा प्रदान गर्न नसकेपनि बृद्ध भत्ता, सामाजिक सूरक्षा, स्वास्थ्य उपचार जस्ता कल्याणकारी व्यवस्थाको कारणले वृद्ध जनसंख्या दिनानुदिन बढ्दै गइरहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिबेदन अनुसार बि.स. २००९ / ०११ सालमा नेपालको कुल जनसङ्ख्याको ४.९९ प्रतिशत अर्थात चारलाख नौ हजार ७ सय ६१ जना वृद्ध जनसङ्ख्या रहेकोमा वि.सं. २०७८ सालसम्ममा आउँदा कूल जनसङ्ख्याको १०.२१ प्रतिशत अर्थात २९ लाख ७७ हजार ३ सय १८ जना वृद्ध जनसङ्ख्या पुगेको छ ।

यसैगरी बढ्दै जाने हो भने आगामी २१ वर्षमा दोव्वर अर्थात झण्डै ६० लाख बृद्ध जनसङ्ख्या पुग्ने अनुमान गर्न सकिन्छ । बर्तमान समय युवाहरूको देश भनेर चिनिने देश नेपाल पछिल्ला दशकहरूमा वृद्ध नागरिकको संख्या र अनुपात तिव्र गतीमा बढिरहेकाले आउँदो समयमा बुढौलीको समाजमा रूपान्तरण हुनेछ ।

यसरी दिनदिनै बृद्ध जनसङ्ख्या बढ्दै छ भने अर्को तिर यहाँका युवा जनशक्ति विदेशिने क्रम बढदै छ यसरी पारस्परिक हेरचाह प्रणाली कमजोर हुँदै गएको बर्तमान परिपे्रक्षमा वृद्ध नागरिकलाई आश्रीत मात्रै नगराई उनीहरूलाई सामाजिक, आर्थिक र मानसिक रूपमा सकृय राख्नु आबश्यक हुन्छ ।

नेपाली समाजमा ज्येष्ठ नागरिक निश्चित उमेर कटेपछि निश्कृय भएर बस्नुपर्छ अब काम गर्ने होइन आराम गर्ने र भजनकृतन गरेर दिन बिताउने हो भन्ने सामाजिक तथा सांस्कृतिक धारणा निकै गहिरो रहेको छ । छोराछोरी वा नातिनातिना हुर्किसकेपछि शारिरिक कामबाट बिश्राम लिनुलाई सुख, समृद्धि र सन्तानले गरेको सेवाको रूपमा लिइन्छ । यस उमेरका व्यक्तिहरूले सामान्य काम वा व्यायसाय गर्न खोज्दा पनि छोराछोरी हुँदाहुँदै किन दुख गरेको वा छोराछोरीले पालेनन की क्याहो भन्ने चलन छ ।

यस्ता नकारात्मक सोचाइलाई तोडेर दिननानुदिन बढ्दै गैरहेको बृद्ध जनसङ्ख्यालाई सकृय बुढौलीका रूपमा जीवन यापन गर्न प्रेरित गर्नु सबै पक्षको लागि हितकर हुन्छ । वृद्धाअबस्था प्राकृतिक प्रकृया हो । यसलाई रोक्न सम्भव छैन तर स्वस्थ जीवनशैली, नियमित स्वास्थ्य परिक्षण, मानसिक सकृयता, सामाजिक सहभागिता र परिवारको सहयोग मार्फत बुढौलीलाई स्वस्थ, सकृय र सम्मानित बनाउन सकिन्छ भन्ने मान्यतामा नै सकृय बुढौली हो ।

सकृय बुढौली वृद्धवृद्धाको जीवनको गुणस्तर बढाउनका लागि स्वास्थ्य, सहभागिता र सुरक्षाका अवसरहरूलाई अनुकुल गर्ने प्रकृया हो । यसको मुख्य उद्धेश्य मानिस उमेर बढ्दै जाँदा पनि शारिरीक, सामाजिक र मानसिक रूपमा सकृय रहनसकुन भन्ने सुनिश्चित गर्न सक्नु हो । मानिसहरू बुढो हुदैजाँदा उनीहरूको जीवनको गुणस्तर सुधार गर्नका लागि स्वास्थ्य, सहभागिता र सुरक्षाका अवसरहरूलाई अधिकतम बनाउने प्रकृयालाई विश्व स्वास्थ्य संगठनले सकृय बुढौली भनेको छ ।

वृद्धवृद्धाहरूलाई समाजको एक सकृय र उत्पादनशिल सदस्यका रूपमा हेरिने अवस्था नै सकृय बुढौली हो । समाजशात्रीय दृष्टिकोणमा बृद्ध अवस्थामापनि आफ्नो इच्छा, क्षमता र आबश्यकता अनुसार सामजिक आर्थिक र पारिवारिक गतिबिधिमा संलग्न रहिरहन जोड दिइन्छ । अबकास प्राप्त गरेपछि पनि मानिस निकृय नभइ कुनै न कुनै रचनात्मक कार्यमा लागिरहनुपर्छ भन्ने बुझाउछ । सकृय बुढौली व्यवस्थित जीवनशैली सन्तुलित आहारबाट शारिरीक, सामाजिक र मानसिक रूपमा सबल बन्दै परनिर्भरतालाई कम गर्न र दीर्घ आयु प्राप्त गर्ने एक उपाए हो ।

सकृय बुढौलीका मुख्य खम्वाहरूमा स्वास्थ्य , सहभाागिता र सुरक्षा पर्दछन् । शारिरीक मानसिक रूपमा स्वस्थ भई निरोगी रहने । सामाजिक आर्थिक र राजनितीक गतिबिधिहरूमा सकृय सहभागिता हुने । आर्थिक, कानुनी र शारीरिक रूपमा सुरक्षित महसुस गर्नु नै सक्रिय बुढौली हो । सकृय र स्वस्थ बुढौलीका लागि शारीरिक, मानसिक र मानसिक रूपमा सकृय रहनु आबश्यक हुन्छ ।

बुढौली जीवन एक प्राकृतिक प्रकृया भएकाले यसलाई रोक्न नसकिए पनि सही दिन चर्या र जीवन शैली अपनाएर यस चरणलाई उर्जावान र सम्मानित बनाउन सकिन्छ । बिश्वव्यापी रूपमा ज्येष्ठ नागरिकलाई बोझको रूपमा नभइ समाजको एउटा सकृय र महत्वपूर्ण अंगका रूपमा स्थापित गर्न बिभिन्न प्रयासहरू भैरहेका छन् । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघको नेतृत्वमा बिश्वभरी नै नीतिगत, सामाजिक र प्राबिधिक पहलहरू संचालनमा छन् । सन २०२१ देखि २०३० सम्मको अबधिलाई ग्ल् म्भअबमभ या ज्भबतिज ब्नभष्लन का रूपमा मनाउदै आएका छन् ।

यसमा मुख्यत उमेरजन्य भेदभावको अन्त्य, उमेर अनुकुल वातावरण, एकिकृत स्वास्थ्य सेवा र दिर्घकालिन हेरचाह पर्दछन् । त्यसैगरी विश्व स्वास्थ्य संगठनले विश्वमा सयौ शहरहरूलाई ज्येष्ठ नागरिक अनुकुल शहर बनाउदै छ । बदलिदो प्रबिधिसंगै ज्येष्ठ नागरिकहरू पछि नपरुन भनेर धेरै देशहरूले डिजिटल साक्षरता चलाई रहेका छन् ।

जापान, दक्षिण कोरिया तथा केही युरोपेली देशहरूले ज्येष्ठ नागरिकको अनुभब र ज्ञानलाई राष्ट्रिय उत्पादनमा जोड्ने प्रयास गरेका छन् । यसमा ज्येष्ठ नागरिकलाई शारीरिक, क्षमता अनुसार लचिलो कामको व्यवस्था र बिज्ञ वा अनुभबी ज्येष्ठ नागरिकलाई बिभिन्न क्षेत्रमा परामर्सदाता वा स्वयंमसेवकका रूपमा पुन काममा लगाउने नीति अपनाएका छन् । युवा र ज्येष्ठ नागरिक बिचको दुरी कम गर्न अन्तरपुस्ता अन्तरकृया संचालन गरेका छन् । नेपाल सरकारले पनिज ज्येष्ठ नागरिकको अधिकार, रक्षा, सम्मान र सकृय बुढौलीलाई प्रबद्धन गर्न कानुनी तथा ब्यवहारीक रूपमा प्रयास भैरहेका छन् ।

संबिधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट संरक्षण र सामाजिक सुरक्षाको हकहुने ज्ञारेन्टी गरेको छ । ज्येष्ठ नागरिक ऐन २०६३ र नियमावली २०६५ ले ज्येष्ठ नागरिकको पालनपोषण र सुरक्षाको जिम्मा परिवारको हुने उल्लेख गरेको छ । यसैगरी सवारी साधनमा २ सिट सुरक्षीत राख्नुपर्ने र भडामा ५० प्रतिशत छुटको व्यवस्था । ज्येष्ठ नागरिक भत्ता, जेरियाट्रिक वार्डको व्यवस्था, ज्येष्ठ नागरिक केन्द्र संचालनमा छन् ।

राज्यले ऐन नियम व्यबहारबाट ज्येष्ठ नागरिकलाई स्वस्थ र सकृय बुढौली जीवन निमार्ण गर्न सुरुवात गरिरहेपनि बढ्दो बुढौलीको जनसङख्यालाई उचित रूपमा सक्रिय जीवन विताउने वातावरण दिन सकेको छैन । बढ्दो बुढौलीको जनसङ्ख्यालाई सबै पक्षले समयमै ठोस कार्यक्रमद्वारा सकृय बुढौली जीवनशैलीमा रूपान्तरण गर्न आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?