© 2026
दाङ । लगातार परेको वर्षाका कारण दाङको गढवा, राजपुर र राप्ती गाउँपालिकाका किसानले काटेर खेतमै राखेको धान भिजेपछि चिन्तित भएका छन् । पाकेको धान काटेर सुकाउने र भित्र्याउने तयारी गरिरहेका किसानलाई अकस्मात परेको पानीले समस्या पारेको उनीहरू बताँउछन् ।
गढवा गाउँपालिका वडा नम्वर ५ का किसान भौना चौधरीले भने, “धान काटेर खेतमै राखेका थियौ खेतमै भिज्यो । धान भित्र्याउने तयारी भइरहेका बेला पानी परेपछि काटेको धान भिजेको उनले बताएका छन् ।” बर्षभरी खाने अन्न घरमा ल्याउन नपाउदै भिजेपछि चिन्ता बढेको उनको भनाइ छ । खेतबाट धान उठाएर सुरक्षित स्थानमा राख्न नपाए पछि गाउँका धेरै किसानको धान खेतमै भिजेको उनले बताए । पाकेको धान स्याहार्ने बेलामा पानी परेपछि वर्षभरी खाने अन्नको जोहो कसरी गर्ने भन्ने चिन्ता थपिएको छ । भिजेको धान राम्रोसँग सुकाउन नपाउँदा धानमा चिस्यान बढ्ने र गुणस्तरमा असर पर्ने किसानहरूको भनाइ छ ।
गढवा –५ का किसान बिक्रम चौधरीका अनुसार यस वर्ष धान उत्पादन राम्रो हुने अपेक्षा थियो ।
समयमै वर्षा भएकाले धानबाली राम्रो भएको भए पनि काट्ने समयमा परेको पानीले मेहनत खेर जाने अवस्था आएको उनको गुनासो छ । वर्षाका कारण खेतमा काटेर राखिएको धान उठाउनसमेत समस्या भएको छ । उनले भने, “महिनौँ मेहनत गरेर धानमा लगानी गर्यौ, काटेर भित्रयाउने बेलामा पानी परेपछि समस्या भयो, उनले भने, “भिजेको धान कसरी सुरक्षित गर्ने भन्ने चिन्ता थपिएको छ ।” कतिपयले सडकछेउमा धाान राखेका छन् तर त्यसो गर्दा सडकमा यात्रा गर्ने यात्रुलाई समस्या पर्ने देखिन्छ ।
किसानहरूले काटेको धान तत्काल सुरक्षित स्थानमा लैजान र सुकाउन स्थानीय तहले आवश्यक सहयोग गर्नुपर्ने माग गरेका छन् । भिजेको धानलाई सुरक्षित रूपमा सुकाउने व्यवस्था, कृषि प्राविधिकको परामर्श तथा क्षतिको विवरण संकलन गर्नुपर्ने उनीहरूको माग छ ।
गढवा गाउँपालिकाले किसानलाई धान सुरक्षित गर्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । मौसममा सुधार नआएसम्म काटेको धानलाई खुला ठाउँमा नराखी त्रिपाल वा अन्य सुरक्षित साधनले छोप्न तथा सम्भव भएसम्म सुरक्षित स्थानमा राख्न कृषि प्राविधिकहरूले सुझाव दिएका छन् ।
यस वर्ष धान उत्पादनबाट राम्रो आम्दानी गर्ने आशामा रहेका किसानलाई भित्रयाउने समयमा आएको वर्षा चुनौती बनेको छ । मौषमको बारेमा पूर्व जानकारी लिएर मात्र धान काट्न मौषमविदले सल्लाह दिएका छन् ।