© 2026
काठमाडौं । सन् २०२६ को शरद् ऋतुमा नेपालका ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ९१ टोलीमा आबद्ध ५८२ पुरुष र २०६ महिला आरोहीले विभिन्न हिमाल आरोहणको अनुमति पाएका हुन्। आरोहण अनुमति दस्तुरबापत सरकारले २४ करोड ७२ लाख ७ हजार ६०१ रुपैयाँ रोयल्टी संकलन गरेको छ। अनुमति लिने आरोहीमध्ये सबैभन्दा धेरै चीनका ११८ जना छन्। त्यस्तै रूसका ६५, फ्रान्सका ६०, अमेरिकाका ५२ र बेलायतका ४५ जना आरोहीले अनुमति लिएका छन्।
यस वर्ष ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणमा सबैभन्दा बढी आकर्षण देखिएको छ। मनास्लुका लागि मात्रै ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका छन्। मनास्लु आरोहणबाट मात्रै २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ। त्यस्तै, धौलागिरि–१ का लागि ३६, हिम्लुङका लागि ३४ र आमादब्लमका लागि १९ जनाले आरोहण अनुमति लिएका छन्। मकालु, अन्नपूर्ण–४, पुमोरी, बरुणत्सेलगायतका हिमालका लागि समेत अनुमति जारी भएको विभागले जनाएको छ। नेपालका हिमालप्रतिको अन्तर्राष्ट्रिय आकर्षणसँगै पर्वतीय पर्यटनबाट राज्यले प्राप्त गर्ने राजस्वमा समेत वृद्धि भइरहेको देखिन्छ।