Butwal Today

वधअघि पशुलाई १२ घण्टा अनिवार्य विश्राम

२१ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

काठमाडौं । सरकारले पशु वध तथा मासु बिक्रीलाई थप व्यवस्थित र स्वच्छ बनाउन नयाँ व्यवस्था प्रस्ताव गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘पशु वधशाला र मासु जाँच दोस्रो संशोधन नियमावली, २०५७’ को नयाँ मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग राय–सुझाव मागेको हो। प्रस्तावित व्यवस्थाअनुसार वध गर्नुअघि पशुलाई कम्तीमा १२ घण्टा विश्राम गराउनुपर्नेछ। त्यसका लागि टहरासहितको छुट्टै व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ।

मस्यौदामा मासु पसल र पशु वधस्थल अलग–अलग हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। वधअघि पशुलाई सफा गर्ने, स्वास्थ्य परीक्षण गर्ने तथा बिरामी वा रोगको शंका भएका पशुलाई स्वस्थ पशुबाट छुट्टै राख्नुपर्ने व्यवस्था पनि समेटिएको छ। मासु बिक्रीस्थलमा स्वच्छ पानी, हात धुने व्यवस्था तथा चिलर वा फ्रिजरसहितको कोल्डचेन अनिवार्य गर्ने प्रस्ताव गरिएको छ। मासुको गुणस्तर परीक्षण, छाप लगाउने, उपभोगका लागि अयोग्य मासु नष्ट गर्ने तथा योग्य र अयोग्य मासु छुट्याउने अधिकार मासु निरीक्षकलाई थप स्पष्ट रूपमा दिइनेछ।

त्यस्तै, रोगको शंका लागेको मासु मासु निरीक्षकको आदेशविना हटाउन वा त्यसमा कुनै परिवर्तन गर्न नपाइने प्रस्ताव गरिएको छ। आपत्कालीन अवस्थामा पशु वध गर्नुपरे पूर्वसूचना दिनुपर्ने र रोगी पशुको मासुमा प्रयोग भएका औजार तथा सामग्री निर्मलीकरण नगरी पुनः प्रयोग गर्न नपाइने व्यवस्था पनि मस्यौदामा छ। वधशाला तथा मासु जाँचसम्बन्धी विवरणलाई व्यवस्थित र अभिलेखीकरण गर्न एकीकृत डिजिटल प्रणाली सञ्चालन गर्न सकिने व्यवस्था समेत प्रस्ताव गरिएको छ। मन्त्रालयले मस्यौदा सार्वजनिक गर्दै सूचना प्रकाशित भएको मितिले सात दिनभित्र राय तथा सुझाव पठाउन सरोकारवाला तथा सर्वसाधारणलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?