Butwal Today

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियानको टोली धादिङ पुग्यो

२१ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

काठमान्डौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन केन्द्रित घरदैलो अभियानभन्दा फरक ढंगले नागरिकका दैनिक समस्या, गुनासा र अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान सुरु गरेको छ ।

बुधबार धादिङबेसीमा अभियानको सुरुवात गर्दै रास्वपाका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य जगदीश खरेलले राजनीतिक दल र नागरिकबीच नियमित संवाद आवश्यक रहेको बताए ।

निर्वाचनका बेला मात्रै मतदाताको घरदैलोमा पुग्ने परम्पराभन्दा बाहिर निस्केर नागरिकका दैनिक समस्या बुझ्न अभियान सञ्चालन गरिएको उनको भनाइ छ । राज्यको केन्द्रीय संरचना र नागरिकको दैनिक जीवनबीच देखिएको दूरी कम गर्न जनतासँग प्रत्यक्ष सम्पर्क आवश्यक रहेको भन्दै खरेलले नागरिकका गुनासा, सुझाव, आवश्यकता तथा अपेक्षा घरदैलोमै पुगेर सङ्कलन गरिने जानकारी दिए ।

अभियानका क्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग समेत छलफल गर्ने रास्वपाको योजना छ । स्थानीय तहबाट प्राप्त सुझावलाई पार्टीको आगामी नीति निर्माण, संगठन सुदृढीकरण तथा जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाउन उपयोग गरिने खरेलले बताए ।

अभियानमा खरेलसँगै प्रतिनिधिसभा सदस्य बसुमाया तामाङ, डा। राम लामा तथा केन्द्रीय सदस्य सुशीला कार्की सहभागी छन् ।

रास्वपा धादिङका सभापति राजन अर्यालका अनुसार अभियान टोलीले जिल्लाका विभिन्न स्थानीय तहका बस्ती तथा टोलमा पुगेर नागरिकसँग प्रत्यक्ष भेटघाट गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?