© 2026
चन्द्रौटा।
कपिलवस्तुको चन्द्रौटामा दिनदहाडै महिलाको घाँटीबाट सुनको सिक्री लुटिएको छ । शिवराज नगरपालिका–५, सुन्दरटोलकी विष्णु अधिकारी (नेपाली) को घाँटीबाट करिब डेढ तोलाको सुनको सिक्री लुटिएको हो । घटना मंगलबार दिउँसो करिब १ बजे भएको प्रहरीले जनाएको छ ।
विष्णुका श्रीमान् दीपक नेपालीले सुन्दरटोल जाने बाटोमा किराना तथा चिया पसल सञ्चालन गर्दै आएका छन् । दिउँसो पसलमा विष्णु एक्लै भएको मौका छोपेर लुटेराले सिक्री लुटेको पीडितको भनाइ छ । उनीहरु केही दिनदेखि त्यहाँ आउने, खाजा खाने, घण्टौंसम्म बसेर योजना बनाएको अनुमान छ ।
ती लुटेराहरु मंगलबार बिहानै आएर चिया खाएको र दिउँसो पुनः खाजा खान आएको थिए । दिउँसो एक्लै भएको मौका छोपी खाजाको पैसा दिने क्रममा घाँटीबाट सिक्री लुटेर मोटरसाइकलमा भागेको पीडितको भनाइ छ । घटना भए लगत्तै पीडितको हारगुहारपछि छिमेकीहरू जम्मा भएपनि लुटेराहरु भागिसकेको स्थानीयको भनाइ छ ।
लुटेराहरू ज्ञानज्योति आधारभूत विद्यालय बुड्ढिहवाको बाटो भएर ग्यालेक्सी पिउने पानीको बाटो हुँदै भागेको ग्यालेक्सी पिउने पानीको सिसी क्यामेराको फुटेजमा देखिएको छ । घटना लगत्तै पीडितले वडा प्रहरी कार्यालय चन्द्रौटालाई खबर गरेपछि प्रहरी टोलीले अनुसन्धान कार्य अघि बढाएको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।